neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट दर्ज्यानी चिन्ह सुशोभन

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट दर्ज्यानी चिन्ह सुशोभन

Jul 29th, 2020

काठमाडौं, १४ साउन

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी अतिरिक्त महानिरीक्षक तथा प्राविधिक प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका ४ जना प्रहरी अधिकृतहरुलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिन्ह सुशोभन गर्नुभयो ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी अतिरिक्त महानिरीक्षकहरुमा निरज बहादुर शाही र प्रद्युम्न कुमार कार्की रहनुभएको छ । नेपाल सरकार मन्त्रीपरिषदको २०७७ साउन १२ गतेको निर्णयअनुसार उहाँहरु प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति हुनुभएको हो ।

साथै दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्राविधिक प्रहरी उपरीक्षकहरुमा पशुपति कुमार राय र श्याम कुमार मण्डल रहनुभएको छ । नेपाल सरकार सचिवस्तरको सोही मितिको निर्णय अनुसार उहाँहरु नेपाल प्रहरीको सूचना प्रविधितर्फको प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षकमा पदोन्नति हुनुभएको हो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नति पश्चात प्रहरी अधिकृतहरुबाट आ-आफ्नो दक्षता अनुरुप थप उर्जासहित व्यावसायिक सेवाको अपेक्षा संगठनले लिएको बताउनुभयो । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संगठनको बृहत्तर हितका लागि सबै प्रहरी कर्मचारीहरु अग्रसर हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सामूहिक नेतृत्व सदैव संगठनको हितमा लाभकारी हुने चर्चा गर्दै प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति पश्चात नेतृत्व तह थप बलियो भएको बताउनुभयो । आगामी दिनमा संगठनको हितको लागि समेत नेतृत्व तह अत्यन्तै प्रभावकारी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तब्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले आफुहरु पदोन्नति पश्चात प्राप्त जिम्मेवारीप्रति उत्तिकै गम्भीर र इमानदार रहेको बताउनुभयो । संगठनको नीति निर्देशन र आदेशप्रति सदैव कर्तव्यनिष्ठ रही संगठनको बृहत्तर हित र गरिमालाई थप उचाईमा लैजान मन, वचन र कर्मले कटिबद्ध रही काम गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंह, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi