neapl investment mega bank
  • गृहपृष्ठ
  • एक वर्षदेखि ओछ्यानमा थलिएकी १९ वर्षीया युवतीको उद्धार

एक वर्षदेखि ओछ्यानमा थलिएकी १९ वर्षीया युवतीको उद्धार

Jul 29th, 2020

काठमाडौं, साउन १४

एक वर्ष अघिदेखि ओछ्यानमा थलिएकी हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित ओफ्लाङकी चीनमाया अधिकारी खत्रीलाई उद्धार गरेर उपचारका लागि काठमाडौँ पठाइएको छ। घाँस काट्न गएको समयमा रुखबाट लडेर गम्भीर घाइते बनेकी १९ वर्षीया खत्रीलाई नगरउपप्रमुख विमला राईको पहलमा मङ्गलबार उद्धार गरेर उपचारका लागि गाडीमार्फत काठमाडौँ पठाइएको हो।

रुखबाट लडेको दिनदेखि कम्मरमुनिको भाग चल्न छाडेपछि ओछ्यानमा थलिएकी उनको स्वास्थ्य अवस्था कमजोर हुँदै गएकाले उद्धार गरेर उपचारमा पठाइएको नगरउपप्रमुख राईले बताइन्। “समयमै जानकारी पाएको भए चीनमायालाई अलि छिटो उपचार गर्न सकिन्थ्यो”, उनले भनिन्, “ढिलै भए पनि उनलाई गाडी रिजर्भ गरेर राजधानी काठमाडौँस्थित शिक्षण अस्पताल पठाइएको छ । मलाई चिकित्सा विज्ञानसँग भरोसा छ । उनको रोग निको हुनेछ ।”

रुखबाट लडेर रुखमै अड्किरहेकी अवस्थामा चीनमायालाई स्थानीय बासिन्दाले उद्धार गरेर घरमा लगेलगत्तै थलापरेकी उनको शरीर अहिले अनौठो देखिएको छ। शरीरमा छाला र हड्डी मात्र देखिने उनको पेट भासिएर रित्तो भाँडोजस्तै देखिएको छ । उद्धार गरेर घरमा पु¥याउनासाथ ओछ्यान परेकी उनी एकाएक बोल्न छाडेकी थिइन्। उनको कम्मरमुनिको भाग पूर्णरूपमा चल्न छोड्यो। हिँड्न र बोल्न छाडिन् । उपचार गर्न ओखलढुङ्गा र काठमाडौँसम्म पु¥याइए पनि चिकित्सकले केही नभएको र ग्यास्ट्रिकको लक्षण देखिएको प्रतिक्रिया दिएका थिए।

ओखलढुङ्गा र काठमाडौँमा उपचार सम्भव नभएपछि घरमा ल्याएर धामी÷झाँक्री अनि सामान्य घरायसी उपचार गराउँदा उनको बोली फुटेको पारिवारिक स्रोतले जनाएको छ । घरायसी उपचारपछि राम्ररी बोल्न र बाहिरी कुराको बारेमा होस राख्नसक्ने भए पनि शरीर नचल्दा दिनानुदिन उनको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको हो।

घरायसी उपचारपछि उनले खानेकुरा खाए पनि पाचन प्रक्रियामा नपुगी मुखबाट खाएको खाना मुखबाटै फर्किने गरेको चीनमायाकी आमा खड्गमाया अधिकारी खत्रीले बताइन्। “खाना जति खाए पनि पेटमा अडिन्न”, उनले भनिन्, “खाएको कुरा जस्ताको तस्तै फर्किन्छ । तर उनी खान भने कहिले अल्छी गर्दिनन् । भोक अति नै लाग्छ र खान्छिन् पनि । तर भरिने भाँडो सधैँ खाली र रित्तो हुने गरेको छ ।”

चीनमायाका बुबा रामबहादुर अधिकारी खत्रीले कान्छी आमा ल्याएर अर्कै घरमा बसेपछि आमा खड्गमाया अहिले सबै काम छाडेर छोरीको स्याहाररसुसारमा दिनरात बिताउँदै आएकी थिइन्। बिरामी छोरी चीनमायाको स्याहार/सुसारमा दिनरात खटिनुभएकी आमा खड्गमायाले उनको उपचारमा आवश्यक रकम सहयोग गरिदिन सहयोगदाता सबैसँग अपिल गरेकी छन्।

आर्थिक अवस्था कमजोर भएकै कारण उपचार नपाएर सिकिस्त बिरामी परेकी चीनमायाको जीवनरक्षाका लागि सबैको सहयोग आवश्यक रहेको उनका छिमेकी एवं नेपाली काँग्रेसका युवानेता राजकुमार राईले बताए। युवानेता राईका अनुसार रामबहादुरकी जेठी श्रीमती खड्गमायापट्टि दुई छोरा र दुई छोरी छन्। बिरामी चीनमाया जेठीपट्टिकी कान्छी छोरी हुन् । उनीपट्टिका जेठा दाजु र ठूली दिदीको विवाह भइसकेको जनाइएको छ।रासस

aadharbhumi
aadharbhumi
aadharbhumi