neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल टेलिकमद्धारा आफ्नो वेभसाईटलाई थप परिमार्जन

नेपाल टेलिकमद्धारा आफ्नो वेभसाईटलाई थप परिमार्जन

Jul 27th, 2020

काठमाडौ, साउन १२

नेपाल टेलिकमले आफ्नो वेभसाईटलाई थप परिमार्जन गरेको छ । टेलिकमका अनुसार आफ्नो वेभसाईट डब्लुु डब्लुु डट एनटिसी डट नेट डट एनपी लाई परिमार्जन गरी थप ग्राहकमैत्री तथा जानकारीमूलक बनाइएको हो । यसको प्रयोगमार्फत विभिन्न जानकारी तथा सुविधाहरु प्राप्त गर्न सकिन्छ ।

वेबसाइटको होमपेजमै राखिएको सेल्फ केयर एकाउन्टको प्रयोग गरी विभिन्न सेवाका बारेमा जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ । सेल्फ केयर एकाउन्टमार्फत विभिन्न सेवामा रिचार्ज गर्न, व्यालेन्स ट्रान्सफर गर्न र प्याकेज खरिद गर्न पनि सकिन्छ । आफन्त वा साथीभाईलाई प्याकेज गिफ्ट दिन पनि सकिन्छ । त्यसैगरी आफूले खरिद गरेको प्याकेजको भोल्युमका साथै मोबाइलमा उपलब्ध व्यालेन्सको बारेमा समेत जानकारी लिन सकिन्छ ।

रिचार्ज कार्डमा भएको पिन नम्बर प्रयोग गरेर तथा भिसा वा मास्टर कार्ड प्रयोग गरेर कम्पनीका विभिन्न सेवाहरुमा अनलाइन रिचार्ज पनि वेबसाइटबाटै गर्न सकिन्छ । नयाँ सिमकार्ड लिनका लागि आवश्यक केवाईसी मार्फत समेत यहीबाट भर्न सकिन्छ । कम्पनीबाट उपलब्ध रोमिङ सेवा, फ्रेन्ड्स एण्ड फेमली सेवा, नमस्ते क्रेडिट सेवा, मिस कल अर्लट सेवा, डाटा रोमिङ र इन्टरनेसनल रोमिङ सेवा, भ्याल्यु एडेड सर्भिस , फोरजी एलटीई सेवा, फाइबर टु द होम सेवा, एडीएसएल सेवा, कर्पोरेट युजर ग्रुप जस्ता सेवाहरुको बारेमा जानकारी लिन पनि सकिन्छ । कम्पनीद्वारा उपलब्ध गराइएका पोष्टपेड तथा प्रिपेड मोबाइल, ल्यान्डलाइन तथा अन्य विभिन्न सेवाहरुका थप विशेषताका बारेमा यसबाट प्रशस्त उपयोगी जानकारी प्राप्त गर्न सकिन्छ । त्यसैगरी रिचार्ज कार्डका ६ वटासम्म अंकहरु मेटिएको अवस्थामा पनि वेबसाइटबाटै रिचार्ज गर्न सकिने सुविधा प्राप्त गर्न सकिन्छ ।

कम्पनीका विविध गतिविधिहरुको जानकारीका लागि प्रकाशित गरिएका प्रेस विज्ञप्ति र न्युजलेटर समेत यहींबाट अध्ययन गर्न सकिन्छ । साथै कम्पनीले मासिक रुपमा प्रकाशन गर्ने एनटी न्युुज लेटर कम्पनीको वेभसाईटबाट सब्सक्राईव समेत गर्न सकिन्छ । नेपाल टेलिकमले वितरण गरेका स्थानीय टेलिफोन नम्बरहरुको बारेमा जानकारी लिन तथा आफूले चाहेका व्यक्तिगत वा संस्थागत ग्राहकको नम्बर पनि वेबसाइटबाटै खोज्न सकिन्छ ।

आफूलाई आवश्यक पर्ने नेपाल टेलिकमका कुनैपनि सेवाको बारेमा खोजी गर्न अर्थात सर्च गर्न सकिने सुविधा समेत वेबसाइटको होमपेजमै उपलब्ध छ । होमपेजको मेनुको अन्त्यमा रहेको आइकनमार्फत सेवाहरुका बारेमा विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ ।