neapl investment mega bank
  • गृहपृष्ठ
  • गत आइतबारदेखि परेको अविरल वर्षात्का कारण विद्युतको पोल ढलेपछि दुई पालिका अन्धकार

गत आइतबारदेखि परेको अविरल वर्षात्का कारण विद्युतको पोल ढलेपछि दुई पालिका अन्धकार

Jul 25th, 2020

तनहुँ, १० साउन /रासस

गत आइतबारदेखि परेको अविरल वर्षात्का कारण विद्युतको पोल ढलेपछि यहाँका दुई पालिकाका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् । तनहुँको बन्दीपुर गाउँपालिका र भानु नगरपालिकामा गरी ७०० घरधुरी छ दिनदेखि अन्धकारमा बस्न बाध्य भएका हुन् । दुई पालिकामा पहिरोले करिब २१ वटा विद्युतका पोल ढालेपछि विद्युत अवरुद्ध हुँदा बन्दीपुर गाउँपालिकमा ५०० र भानुनगरपालिका–१ का २०० घरधुरी अन्धकारमा बस्नुपरेको हो । साजबोटे, कल्याणटार र नयाँबस्तीमा अस्थायीरुपमा विद्युत सञ्चालनको लागि गाह्रो भएको तनहुँ वितरण केन्द्र डुम्रे शाखाका इञ्चार्ज बेनी नेपालीले जानकारी दिनुभयो ।

हाइटेन्सन लाइनका नौ र साना १२ वटा पोल ढलेपछि विद्युत अवरुद्ध भएको हो । उहाँले भन्नुभयो, “सात जनाको प्राविधिक टोली विद्युत मर्मत कार्यमा खटिएका छौँ ।” विद्युत अवरुद्ध भएका अधिकांश स्थानमा अस्थायीरुपमा विद्युत सञ्चालन गरिएको छ । उहाँले भन्नुभयो, “बन्दीपुर–१ नाहालास्थित पृथ्वीराजमार्गमा पहिरो गएका कारणले सामग्री समयमा ढुवानीमा समस्या भएको छ ।”

बिहीबार साँझसम्म अवरुद्ध भएका केही क्षेत्रमा विद्युत पुनःसञ्चालन गरिए पनि अझै मर्मत गर्नुपर्ने काम बाँकी रहेकाले कर्मचारी खटिइरहेको उहाँले बताउनुभयो । त्यसैगरी असार ३१ गते परेको अविरल वर्षाले जिल्लाको म्याग्दे गाउँपालिका, ऋषिङगाउँपालिका र व्यासनगरपालिका ४०० घरधुरी अन्धकारमा बस्न बाध्य भएका थिए ।

म्याग्दे गाउँपालिका, ऋषिङगाउँपालिका र व्यासनगरपालिका क्षेत्रका करिब ७५ वटाभन्दा बढी विद्युत््का पोल ढाल्ने र बगाउने गरेपछि ती घरपरिवार अन्धकारमा बस्नुपरेको थर्पु नोलाइटका इञ्चार्ज दीपक वाग्लेले जानकारी दिनुभयो । उक्त क्षेत्रका अधिकांश स्थानमा मर्मतसम्भार पछि कतिपय स्थानमा हाललाई अस्थायीरुपमा विद्युत नियमित भइसकेको उहाँले बताउनुभयो ।

पहिरोले म्याग्दे गाउँपालिका क्षेत्रमा मात्रै ११ केभी क्षमताको मुख्य लाइनको चौध र शाखा लाइनको १९ वटा पोल ढलेपछि विद्युत अवरुद्ध भएको थियो । तनहुँका मुख्य मुख्य क्षेत्रमा केही समय अघि मात्रै छुट्टै फिडर लाइन जडान गरिएकाले दुई/चार वटा पोल ढल्दैमा अन्धकारमा बस्नुपर्ने समस्याको अन्त्य भएको छ । फिडर लाइनले दीर्घकालीन समयको लागि समाधान नगरेपनि करिब चार÷पाँच दिन धान्ने गरी छुट्टै फिडर जडान गरिएको विद्युत प्राधिकरण कार्यालय तनहुँका प्रमुख कपिलराज पाण्डेले बताउनुभयो ।

जिल्लाको कुनै क्षेत्रमा पोल ढल्यो भने विद्युत अवरुद्ध भई त्यसको असर सबै क्षेत्रमा पर्न जाने हुँदा दमौलीलगायतका मुख्य क्षेत्रमा छुट्टै फिडर जडान गरिएको उहाँले बताउनुभयो । बाढी पहिरोका कारण तनहुँको विद्युत क्षेत्रमा करिब रु डेढ करोड बराबरको क्षति भएको विद्युत प्राधिकरण कार्यालय तनहुँले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi