neapl investment mega bank

हिँड्दाहिँड्दै व्यथा लागेपछि…

Jul 24th, 2020

बागलुङ, ९ साउन /रासस

प्रसूतिका लागि अस्पताल ल्याउँदै गर्दा यहाँकी एक महिलाले बाटोमै नवजात शिशुलाई जन्म दिनुभएको छ । बडिगाड गाउँपालिका–१ की २४ वर्षीया मनिता घर्तीले सदरमुकामस्थित धौलागिरि अस्पताल आई नपुग्दै बागलुङ नगरपालिका–३ खहरेमा सुत्केरी हुनुभएको हो ।

पहिराले सडक अवरुद्ध हुँदा पैदलै अस्पताल ल्याउने क्रममा व्यथाले च्यापेपछि बाटोमै प्रसूति गराइएको स्थानीय स्वास्थ्यकर्मी सरोज केसीले जानकारी दिनुभयो । घर्तीले बिहीबार छोरी जन्माउनुभएको हो । “गाडी नचलेपछि उहाँहरु अलपत्र पर्नुभएको रहेछ, हिँड्दाहिँड्दै व्यथा लागेपछि बाटोमै प्रसूति गराउनु प¥र्यो”, स्वास्थ्यकर्मी केसीले भन्नुभयो, “म लगायत स्थानीय आमासमूह मिलेर उहाँको उद्धार र तत्काल गर्नुपर्ने स्याहार ग¥र्यौँ ।”

नजिकमै घर भएकाले प्रसूति गराउन सहज भएको उहाँको भनाइ छ । गाउँमा रहेको स्वास्थ्य संस्थाले सुरक्षित प्रसूतिका लागि घर्तीलाई धौलागिरि अस्पताल पठाएको थियो । “शिशुभन्दा पहिल्यै साल खस्ने समस्या आउन सक्ने देखेर रिफर गरिएको रहेछ”, केसीले भन्नुभयो, “उद्धारपछि सुरक्षित साथ अस्पताल पठायौँ ।”

शिशु जन्माएको डेढ घण्टापछि घर्तीलाई धौलागिरि अस्पताल पु¥याइएको थियो । आमा र शिशु दुवैको अवस्था सामान्य रहेको अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले जानकारी दिनुभयो । “आमा र शिशु अहिले स्वास्थ्यकर्मीको हेरचाहमा हुनुहुन्छ, म आफैँ पनि हेरेँ, स्वास्थ्य अवस्था सामान्य छ”, उहाँले भन्नुभयो ।

बुधबार राति ११ बजे घर्तीलाई लिएर परिवारका सदस्य अस्पताल हिँडेका थिए । अस्पताल आउन आधा घण्टा मात्रै बाँकी छँदा सडक अवरुद्ध भएपछि बाटोमै रोकिनुपरेको थियो । निरन्तरको वर्षापछि खसेको पहिराले सदरमुकाम जोड्ने मध्यपहाडी लोकमार्ग खहरे नजिकै बोक्से भन्ने स्थानमा अवरुद्ध छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi