neapl investment mega bank
  • गृहपृष्ठ
  • सामाजिक दुरी र ट्राफिक नियम पालनामा थप कडाई गर्दै ट्राफिक प्रहरी ,मापसे चेकिङ पनि शुरू स्रोतमै निगरानी

सामाजिक दुरी र ट्राफिक नियम पालनामा थप कडाई गर्दै ट्राफिक प्रहरी ,मापसे चेकिङ पनि शुरू स्रोतमै निगरानी

Jul 22nd, 2020

काठमाडौ, साउन ७

झण्डै चार महिनाको लकडाउन गए रातिदेखि अन्त्य भए पश्चात उपत्यकाको सडकमा निजी तथा भाडाका सवारी साधनको चाप देखिएसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले सामाजिक दुरी कायम गराउने र ट्राफिक नियम पालना गराउने कार्य एकसाथ थालेको छ ।

लकडाउन खुले पनि कोरोना भाइरसको संक्रमण हुने जोखिम कायम नै रहेकोले आम सडक प्रयोगकर्ताहरूलाई स्वास्थ्य मापदण्ड पालना गराउन र ट्राफिक नियम कार्यान्वयनका लागि विशेष ट्राफिक प्रहरीहरूको टोली परिचालन गरेको महाशाखाले जनाएको छ ।

उक्त टोलीले सार्वजनिक सवारीमा सामाजिक दूरी कायम गरेर नगरेको, चालक र यात्रुले मास्क लगाएको र नलगाएको, तोकिएको भाडादर लिए, नलिएको, ५० प्रतिशत मात्र यात्रु राखे, नराखेको अनुगमन गर्ने र नियमानुसार नभए कारबाही गर्ने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भिम प्रसाद ढकालले बताए । ‘उपत्यकाका २९ स्थानमा चेक प्वाईन्टका साथै बसपार्क, बसबिसौनी र विशेषगरी गुडिरहेको सार्वजनिक सवारीलाई विशेष अनुमगन गर्नेछ,’ उनले भने, ‘आजमात्रै स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य पोर्टोकल अनुसार नचलाइएका आठ सय ७२ वटा सार्वजनिक सवारी साधनलाई सम्झाइ वुझाई गरेको छ ।’

त्यस्तै लकडाउन शुरु भएदेखि महाशाखाले ट्राफिक नियम उल्लघंन गर्नेलाई गरिने कारबाही बन्द गरेको थियो । लेन पालना नगर्ने, एकतर्फी बाटोमा सवारी साधन चलाउने, अनाधिकृत पार्किङ गर्ने, तीव्र गतिमा कुदाउने, हर्न बजाउने, सवारी साधनको स्वरुप बिगारेर चलाउनेजस्ता ट्राफिक नियम उल्लङ्घन गर्ने उपर पनि आज बुधबारदेखि कारबाही सुरु गरेको महाशाखाका प्रवक्ता वामदेव गौतमले बताए । ‘आजमात्रै ट्राफिक नियम उल्लघंन गर्ने दुुई सय ६३ जना चालकलाई कारबाही गरेका छौं,’ उनले भने ।

मापसे चेकिङ पनि शुरू स्रोतमै निगरानी

महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबारदेखि नै मादक पदार्थ सेवन (मापसे) चेकिङ पनि गर्ने भएको छ । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा मापसे चेकिङ गर्न लागेको महाशाखाका प्रवक्ता एसपी वामदेव गौतमले जानकारी दिए । उनले मापसे गर्ने क्षेत्रमा निगरानी बढाउने र मापसे गरी चलाएको भेटिएमा कारबाही गर्ने पनि बताए ।

महाशाखाका अनुसार बेर्थलाईजरको प्रयोग नगरी चालकले चलाउने तरिका, बोली र वचन हेर्ने तथा सर्वसाधारणबाट सूचना लिई कारबाही गरिने जनाएको छ । यदि कसैप्रति शंका लागेमा अस्पताल लगेर समेत मापसे गरे नगरेको परीक्षण गरिने जनाइएको छ ।

संक्रमणको जोखिम कायम नै रहेकाले सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा गर्न, स्यानिटाइजर, मास्क लगाउन र सवारी साधन डिसइन्फेक्सन गर्नपनि महाशाखाले विशेष आग्रह गरेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi