neapl investment mega bank
  • गृहपृष्ठ
  • ‘आधुनिक राज्यको संस्थागत संरचना निर्माणमा बिपीको योगदान’

‘आधुनिक राज्यको संस्थागत संरचना निर्माणमा बिपीको योगदान’

Jul 22nd, 2020

काठमाडौँ, ७ साउन /रासस

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले आधुनिक राज्य निर्माणमा संस्थागत संरचनाको स्थापना गर्नुभएको बताउनुभएको छ ।

काँग्रेसका संस्थापक नेता बिपीको ३८ औँ स्मृति दिवसका अवसरमा नेपाली जनसम्पर्क समिति अमेरिकाले मङ्गलबार राति जुम प्रविधिबाट आयोजना गरेको कार्यक्रममा उहाँले व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकाजस्ता राज्यका आधुनिक अङ्ग संस्थागत गर्न पहिलो जननिर्वाचित प्रधानमन्त्री कोइरालाले महत्वपूर्ण योगदान गर्नुभएको बताउनुभयो ।

पृथ्वीनारायण शाहले भौगोलिकरुपमा गर्नुभएको एकीकरणलाई आधुनिक राज्यका अङ्ग लोकसेवा आयोग लगायतका संवैधानिक संरचनाको निर्माणमा पनि बिपीको भूमिका रहेको नेता निधिले स्मरण गर्नुभयो । बिपीले भित्र्याउनुभएको राजनीतिक विचार राष्ट्रियता, लोकतन्त्र र समाजवादको आधार भूमिमै संविधानसभाबाट संविधान जारी भएको उहाँको भनाइ थियो ।

काँग्रेस जनसम्पर्क समिति विभाग प्रमुख गोविन्द भट्टराईले सगरमाथाको सीमा विवाद भइरहेका बेला पहिलो जननिर्वाचित प्रधानमन्त्रीको हैसियतमा चीन भ्रमणका बेला बिपीले त्यहाँका तत्कालीन राष्ट्रपति माओत्सेतुङ र प्रधानमन्त्री चाउएनलाइसँग कूटनीतिक वार्ताकै माध्यमबाट समस्या समाधान गरेको सन्दर्भ अहिले भारतसँगको सीमा विवाद समाधानमा पनि उपयोगी हुने बताउनुभयो ।

योजना आयोगका कार्यालयमा राजा, प्रधानमन्त्रीसँगै हलो जोतिरहेको किसानको तस्वीर राखेर बिपीले निम्नवर्गलाई ध्यानमा राखी विकास निर्माणका योजना बनाउनसमेत प्रेरित गर्नुभएको उहाँले सम्झनुभयो । जनसम्पर्क समितिका सभापति आनन्द विष्ट, महासचिव मुनिन्द्र नेम्वाङलगायतले लोकतन्त्र बिना राष्ट्रियता सुदृढ नहुने विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेकामा जोड दिनुभएको थियो ।