neapl investment mega bank
  • गृहपृष्ठ
  • ९४ अर्ब रेमिट्यान्सको कालो पाटो, जसमा सरकार बेखबर रह्यो

९४ अर्ब रेमिट्यान्सको कालो पाटो, जसमा सरकार बेखबर रह्यो

Jul 22nd, 2020

आधारभूमि संवाददाता

काठमाडौं, साउन ७

सरकारका अर्थमन्त्री युवराज खतिवडाले केहि दिन अघिको सार्वजनिक कार्यक्रममा रेमिट्यान्स घट्ने आकलन गरिएकोमा बढेको भनदै खुसी ब्यक्त गरे । तर उनले नेपाली कामदारले बिदेशमा जागीर गुमाएका कारण आगामी दिनमा रेमिट्यान्स घट्ने कुरा भने उच्चारण समेत गरेनन् ।

आकडामा भुलाउन खोज्ने अहिले सरकारका लागि तत्कालका लागि त जेठमा भित्रिएको ९४ अर्ब राम्रै हो । तर आगामी दिनमा भने रेमिट्यान्स घट्ने देखिन्छ ।

अहिले त लकडाउनक कारण पैसा पठाउन नसकेका र नेपाल फर्कने तयारीमा रहेका युवाले रकम पठाएका कारण जेठमा ह्वात्तै रकम बढेको देखिएको हो । तर नेपाली कामदारले रोजगारी गुमाएर घर फर्कने क्रम बढेको र विदेश जाने रोकिएकाले आगामी दिनमा रेमिट्यान्स घट्ने पक्का छ ।

अहिले विदेशमा निर्माण, रेल वे सेवा र फार्मिङका कामदारहरुलाई कम्पनीले भटाभट निकालेको छ । ३ लाख ५० हजार नेपाली रहेको कतारमा झन्डै १५ प्रतिशतले रोजगारी गुमाएका छन् । कोरोना महामारी पछि कतारबाट ३२ सय नेपाली आएकामा २२ सय नफर्किने गरि आएका हुन् । अहिले पनि दैनिक ५० जना जति नेपाल आउनका लागि दुतावासमा आवेदन दिइरहेका छन् ।

कतार मात्रै होइन कुवेत र ओमानबाट पनि नेपाल फर्किनेहरु त्यत्तिकै छन् । महामारीपछि कुवेतबाट अहिलेसम्ममा नेपालमा २९ सय अवैध रुपमा बसेका र २८ सय रोजगारी गुमाएका नेपाल फर्केका छन् । अझै ३ हजार नेपाल फर्कने तयारीमा रहेको दुतावास बताउँछ ।

त्यस्तै ओमानमा १७ हजार ५ सय नेपाली कामदार रहेकामा १ हजारले रोजगारी गुमाइसकेका छन् भने त्यत्तिकै संख्यामा थप रोजगारी गुम्ने त्यहाँ स्थित दुतावास बताउँछ । ४ सय ९२ फर्किसकेकोमा ५ सय जनाले नेपाल फर्किनका लागि नाम टिपाएका छन् । लकडाउनका समयमा हुन्डीबाट आउने रकम पनि आउन सकेन । र यही समयमा डलरको पनि भाउ बढेकाले जेठमा ९४ अर्ब रेमिट्यान्स भित्रियो । लकडाउन सुरु भएको महिनामा ३४ अर्ब ,बैशाखमा ५३ अर्ब भित्रिएकामा जेठमा ह्वात्तै बिप्रेषण बढेको देखिन्छ ।

कोराना महामारीका कारण विदेशमा कैयन नेपालीले रोजगारी गुमाइरहेका छन् । कम्पनीले सम्झौता नविकरण नगरेको मात्रै होइन कतिपयको म्याद छदै पनि कम्पनीले सम्झौता तोडेको छ । अब नफर्किने गरि नेपाल आउँदा केहि कम्पनीले उपदान तथा बोनस समेत दिएका छन् ।साथै यस अघि साथिभाईलाई दिएको रकम समेत फिर्ता मागेर उनिहरुले रकम नेपाल पठाइरहेका छन् ।

चैत र बैशाखमा स्थिती सहज नभएकाले कतिले रकम सञ्चीत पनि गरेर राखेका थिए । जेठ लागेपछि स्थिती सामान्य भएपछि उनिहरुले रकम नेपाल पठाएका छन् । जसका कारण सरकारले आगामी दिनमा रेमिटयन्समा आउने कमि र बैदेशिक मुद्रामा पर्ने चापलाई ख्याल राख्नु जरुरी छ ।