neapl investment mega bank

आमाबुवा स्याहार्नेलाई अब पुरस्कार

Jul 16th, 2020

टीकापुर, १ साउन /रासस

बृद्ध सेवा समिति टीकापुरले आमाबुवाको राम्रो स्याहार तथा हेरचाह गर्ने दम्पतीलाई पुरस्कार दिने घोषणा गरेको छ । समितिले ज्येष्ठ नागरिकको हेरचाहमा सन्तानलाई जिम्मेवार बनाउन पुरस्कार व्यवस्था गर्न लागेको हो ।

समितिका अध्यक्ष मोहनबहादुर रावलले आमाबुवाको स्याहार तथा हेरचाह गर्ने सन्तानलाई सम्मान तथा पुरस्कारका लागि आफ्नो व्यक्तिगत रकमबाट रु पाँच लाखको अक्षयकोष स्थापना गर्नुभएको छ ।

“आमाबुवाको राम्रो स्याहार गर्ने सन्तानलाई प्रेरणा दिन यस पुरस्कार स्थापना गरिएको हो । कोषको ब्याजबाट आउने रु ५० हजार पुरस्कार दिइनेछ”, उहाँले भन्नुभयो, “जेष्ठ नागरिकको सम्मान, स्याहार भएन । सन्तान जिम्मेवार नबन्दा धेरैले दुःख पाएका छन् । आमाबुवाप्रतिको जिम्मेवारी बोध गराउन पुरस्कार दिने व्यवस्था गरेका हौँ ।”

वृद्ध सेवा समितिले यसबाहेक ज्येष्ठ नागरिकको हकहित तथा सेवामा समर्पित संस्था वा नागरिक र ज्येष्ठ नागरिकका हितमा कलम चलाउने पत्रकारलाई समेत वर्षेनी पुरस्कारको व्यवस्था गरेको छ । समितिले रु १०/१० हजार पुरस्कारको व्यवस्था गरेको अध्यक्ष रावलले जानकारी दिनुभयो । “ज्येष्ठ नागरिकप्रति समाजलाई जिम्मेवार बनाउन ज्येष्ठ नागरिकसम्बन्धी समाचार लेख्ने एक जना पत्रकारलाई पनि पुरस्कार दिने भएका छौँ”, उहाँ भन्नुहुन्छ, “हाम्रो एउटै उद्देश्य ज्येष्ठ नागरिकको हेरचाह होस् भन्ने हो ।”

समाजसेवी कण्ठराज गिरी वृद्ध सेवा समितिले ज्येष्ठ नागरिकको हकहितका क्षेत्रमा गरेका कार्य सराहनीय रहेको बताउनुभयो । “हामीले समस्यामा रहेका ज्येष्ठ नागरिकलाई स्याहार्ने वातावरण बनाउन आवश्यक छ”, उहाँले भन्नुभयो, “हामी काम गर्नसक्ने ज्येष्ठ नागरिकलाई आयआर्जनमा लगाउने नयाँ कामको थालनी गर्ने योजनामा छौँ, त्यसका लागि स्थानीय सरकारसँग पहल भइरहेको छ ।”

टीकापुर नगरपालिका– १ का वडाध्यक्ष गङ्गाराम आचार्यले नगरपालिकाले ज्येष्ठ नागरिकका क्षेत्रमा हुने कार्यक्रममा वडाले सहकार्य गरिरहेको जानकारी दिनुभयो । “वृद्ध सेवा समितिसँगको सहकार्यमा हामीले वर्षेनी सयाँै ज्येष्ठ नागरिकलाई सम्मान गर्ने गरेका छौँ ”,उहाँले भन्नुभयो, “समितिले योजना ल्याएमा नगरपालिका कार्यक्रम दिन तयार छ । ”

aadharbhumi
aadharbhumi
aadharbhumi