neapl investment mega bank
  • गृहपृष्ठ
  • विदेशबाट फर्केका युवाले पाउने ऋण १९ महिनामा जम्मा २ सय ३ जनाले पाए

विदेशबाट फर्केका युवाले पाउने ऋण १९ महिनामा जम्मा २ सय ३ जनाले पाए

Jul 14th, 2020

आधारभूमि संवाददाता

काठमाडौं,असार ३०

विदेशबाट आएर स्वदेशमै उद्यम गर्न चाहने युवालाई ऋण उपलब्ध गराउने भनेर नेपाल राष्ट्र बैंकले अघि सारेको सहुलियतपुर्ण कर्जा खासै सफल हुन सकेको देखिदैन । सहुलियतपुर्ण कर्जा कार्यान्वयनमा आएको १९ महिनामा जम्मा २ सय ३ जनाले मात्रै यस खालको सुविधा पाएका छन् ।

यो कार्यक्रममा ऋणीले सरकारको तर्फबाट ५ प्रतिशत ब्याज अनुदान पाउँछन् । अर्थात बैंक तथा वित्तीय संस्थाले तोकेको ब्याजदरमा ऋणीले पाँच प्रतिशत घटाएर बाँकी ब्याज मात्र तिर्छन् ।

बिदेसिएका युवालाई स्वदेश फर्काएर उद्यममा प्रोत्साहन गर्ने उद्देश्यले सरकारले सहुलियतपूर्ण कर्जा कार्यक्रम सञ्चालन सुरु गरेको हो । यस अन्तर्गत विदेशबाट फर्केका युवाले १० लाख रुपैयाँसम्म ऋण पाउछन् ।

यस्तो कर्जाका लागि श्रमस्वीकृति प्राप्त गरी वा नगरी कुनै पनि देशमा कम्तीमा छ महिना सम्बन्धित तालिम र पेसा र व्यवसाय र क्षेत्रमा काम गरी नेपाल फर्केको तीन वर्ष ननाघेको युवाले यस्तो कर्जा पाउँछन् ।

सरकारले कृषि तथा पशुपन्छी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशील, दलित समुदाय व्यवसाय विकास, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा र भूकम्पपीडितको निजी आवास निर्माण कर्जासहित सात प्रकारका कर्जाका लागि ५ प्रतिशत ब्याज अनुदान दिँदै आएको छ ।

सरकारको निर्देशनअनुसार राष्ट्र बैंकले ०७५ कात्तिक २० मा सहुलियतपूर्ण कर्जासम्बन्धी कार्यविधि जारी गरेको थियो । ब्याज अनुदान दिइने कर्जाको भुक्तानी अवधि बढीमा ५ वर्षसम्मको छ। कर्जाको अवधि व्यवसायको प्रकृतिअनुसार बैंक तथा वित्तीय संस्थाले तोक्न सक्ने छुट पनि सरकारले दिएको छ। कार्यविधिअनुसार सरकारले ब्याज अनुदान उपलब्ध गराउने कर्जामा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफ्नो आधार दर (बेस रेट) मा २ प्रतिशत विन्दुभन्दा बढी नहुने गरी ब्याजदर कायम गर्नुपर्नेछ। यस्तो कर्जामा कर्जाको ब्याजभन्दा बाहेक अन्य कुनै पनि प्रकारको थप सेवा शुल्क लिन पाइँदैन।

aadharbhumi
aadharbhumi
aadharbhumi