neapl investment mega bank
  • गृहपृष्ठ
  • ‘उद्धार तथा राहतमा योजनाबद्धरुपमा परिचालित हौँ’

‘उद्धार तथा राहतमा योजनाबद्धरुपमा परिचालित हौँ’

Jul 12th, 2020

कास्की, २८ असार /रासस

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कार्यालय पोखराले प्राकृतिक विपत्तिको घडीमा उद्धार तथा राहत कार्यमा योजनाबद्धरुपमा परिचालित हुन मातहतका पार्टी कमिटीलाई निर्देशन दिएको छ ।

प्रदेश इञ्चार्ज एवं गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज वक्तव्य जारी गर्दै विपद्को घडीमा सक्रियतापूर्वक परिचालित हुन र जुट्न स्थानीय पार्टी कमिटी तथा सिङ्गो पार्टी पङ्क्तिलाई अपिल गर्नुभएको हो ।

उहाँले म्याग्दी, लमजुङ, कास्की, तनहुँ, बागलुङ र नवलपुर जिल्लालगायत विभिन्न ठाउँमा बाढी तथा पहिराका कारण ठूलो जनधनको क्षति हुन गएको घटनाले दुःखित तुल्याएकोसमेत उल्लेख गर्नुभएको छ । इञ्चार्ज गुरुङले बाढीपहिरामा परी जीवन गुमाउनु हुनेप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकूल परिवार र आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दै घाइते भएकाको शीर्घ स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

सङ्कटको घडीमा उपचार, खोजी र उद्धार कार्यमा जुट्ने नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि, स्वास्थ्यकर्मीलगायत सबैप्रति हार्दिक धन्यवाद प्रकट गर्दै यस विषम परिस्थितिमा धैर्यधारण गरी सतर्क रहन सबैमा अनुरोधसमेत गरिएको छ । “बाढी तथा पहिरामा परी परिवार गुमाउनुहुने तथा प्रभावित परिवारको तत्काल उद्धार, राहत, पुनःस्थापना एवं पहिराका कारण जोखिममा परेको बस्तीको संरक्षणमा तदारुकताका साथ लाग्न सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु”, विज्ञप्तिमा भनिएको छ ।

जल तथा मौसम पूर्वानुमान विभागका अनुसार गण्डकी प्रदेशमा केही दिन भारी वर्षा हुने र जसका कारण नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने तथा सडक यातायात प्रभावित हुनसक्ने भएकाले यस अवधिमा अझ बढी सावधानी र उच्च सतर्कता अपनाउनसमेत सम्बन्धित उहाँले अनुरोधसमेत गर्नुभएको छ ।