neapl investment mega bank
  • गृहपृष्ठ
  • मौद्रिक नीतिमा ब्याज छुट र किस्ता तिर्ने समय बढाउन उद्योगीको माग

मौद्रिक नीतिमा ब्याज छुट र किस्ता तिर्ने समय बढाउन उद्योगीको माग

Jul 9th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, असार २५

उद्योगी तथा व्यवसायीहरुले आगामी मौद्रिक नीतिमा ब्याज र किस्ता तिर्ने समय बढाइदिनुपर्ने ,ब्याजलाई सावामै जोडिदिनुपर्नेका साथै ब्याज छुट दिन समेत आग्रह गरेका छन् ।

उद्योगी तथा व्यवसायीको छाता संगठन् उद्योग बाणिज्य महासंघले हालैमात्रै राष्ट्र बैंकलाई मौद्रिक नीतिमा आफ्नो सुझाव पेश गरेको छ । जसमा ऋणको पुर्नतालिकिकरण अर्थात ब्याज र किस्ता तिर्ने समयावधि थप गरिदिने र ६ महिनाको ब्याजलाई ऋणमै गाभीदिनुपर्ने सुझाव राखेको छ।

ऋण र बैंकमा जम्मा गरिने रकम निक्षेपको ब्याजदर अन्तर स्प्रेडदर हटाउने पर्ने बैंकहरुले माग गरिरहँदा उद्योगीले भने यस्तो अन्तर ३ प्रतिशतमा झारीनुपर्ने सुझाव दिएका छन् ।

उत्पादनमुलक क्षेत्रको कर्जामा ब्याजदर आधार ब्याजदर भन्दा माथि नबढ्नेगरी कायम गर्नुपर्ने र लकडाउन अवधिको लागि २५ लाखसम्मको कर्जामा सबै ब्याज मिनाहा, एक करोड रुपैयाँ सम्मको कर्जामा ५० र पाँच करोड सम्मको कर्जामा २५ प्रतिशत ब्याज मिनाहा गर्नु पर्ने उनिहरुको भनाई छ।

अहिले देशैभरका कैयन व्यवसायी तथा उद्योगीले आफ्नो व्यवसाय पुन सञ्चालनमा ल्याउन नसकेको देखिन्छ । कतिपयले व्यवसाय नै बन्द गरेकाले मूख्य सडकमा रहेका सटरहरु नै खाली भएका छन् ।

घरबेटिले भाडा तिर्न बारम्बार ताकेता गरेपछि केहि व्यवसायीले ब्यापार नै बन्द गरेका छन् भने केहि आन्दोलनमा उत्रेर घरबेटिको भाडासँगै बैैकको ब्याजदर कम गराउने तयारीमा छन् ।

बुधबार राष्ट्रिय व्यवसायी महासँघले त बैंक तथा सहकारीले तारन्तार ब्याज ताकेता र घरबेटिले घरभाडा नछाडेपछि शुक्रबार देखि आन्दोलन नै घोषणा गरेको छ । लकडाउन अवधिभरको ब्याज छुट, किस्ता तथा ब्याज तिर्ने भाका एक वर्ष सार्नुपर्ने उनिहरुको माग छ ।

ब्यापारीले अहिले सटर त खोलेका छन् तर ब्यापार छैन । जसका कारण उनिहरुले आम्दानी गर्न सकेका छैनन् । घरबेटिले भाडा र बैंकले ब्याज निरन्तर ताकेता गरिरहने हो भने लकडाउनका कारण प्रभावित भएका कैयन व्यापारी व्यवसायबाट पलायन हुने खतरा छ जसमा समयमै सचेत हुन जरुरी छ।