आधारभूमि संवाददाता
काठमाडौँ, २३ असार
नेपालका ७७ जिल्लामध्ये चार जिल्ला कोरोना ‘फ्रि’ भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ७७ जिल्लामध्ये चार जिल्ला कोरोना ‘फ्रि’ भएको बताए ।
प्रवक्ताका अनुसार कोरोना मुक्त हुने जिल्लामा प्रदेश १ का तेह्रथुम, भोजपुर, सोलुखुम्बु र कर्णाली प्रदेशको हुम्ला रहेको छ । त्यस्तै पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरा रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा २५ वटा प्रयोगशालामा पीसीआर विधिबाट ६ हजार १३३ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या २५ हजार ७२७ रहेको छ । त्यसैगरी आइसोलेशनमा रहेका व्यक्तिहरुको सङ्ख्या ८ हजार ६३४ छ ।