आधारभूमि संवाददाता
काठमाडौ, असार २३
काठमाडौंमा थप २८ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा २८ जनाको पिसिआर पोजेटिभ आएको बताए ।
नयाँ संक्रमितमा काठमाडौंका १४ जना, भक्तपुरका ४ जना र ललितपुरका १० जना रहेको प्रवक्ता गौतमले जानकारी दिए ।यस अघि सोमबार एकै पटक ५४ जनामा कोरोना संक्रमण देखिएको थियो ।
त्यस्तै पछिल्लो २४ घण्टामा २५ वटा प्रयोगशालामा पीसीआर विधिबाट ६ हजार १३३ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या २५ हजार ७२७ रहेको छ । त्यसैगरी आइसोलेशनमा रहेका व्यक्तिहरुको सङ्ख्या ८ हजार ६३४ छ । पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरा रहेका छन् ।हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ।