neapl investment mega bank
  • गृहपृष्ठ
  • कालोपत्रको माग गर्दै गोदावरी सडक अवरुद्ध

कालोपत्रको माग गर्दै गोदावरी सडक अवरुद्ध

Jul 6th, 2020

– सञ्चिता घिमिरे/सुभानु आचार्य
काठमाडौँ, २२ असार /रासस

सडक चाँडो कालोपत्र गर्नुपर्ने माग गर्दै कर्मनाशा–गोदावरी सडक अवरुद्ध गरिएको छ । सडकमा गत साता बिच्छाइएको ग्राभेलले गर्दा थप हिलो भएपछि चाँडो कालोपत्रेको माग गर्दै स्थानीयवासीले सडक अवरुद्ध गरेका हुन् ।

चार वर्ष पहिले विस्तार शुरु भएको सो सडकमा स्थानीयवासीको विरोधमा सडक विभागले चौडाइ बढाउन सकेको थिएन । २० मिटर चौडाइमा कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता भए पनि केही महिना पहिले सरकारले उपलब्ध चौडाइमा कालोपत्र गर्ने निर्णय गरेको थियो । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले कालोपत्रे गर्न नसकिने भएकाले ग्राभेल गरिएको जनाएको छ । स्थानीयवासीले भने ग्राभेल र माटो सडकमा विच्छाउँदा आवतजावत गर्न अझै गा¥हो भएको बताएका छन् ।

सडक बनाउँछु भन्दै बिगारे पनि निर्माण नगरेकाले विरोध गरिएको स्थानीयवासी हरी महर्जनले बताउनुभयो । पहिले सडकमा खाल्डा भए पनि अहिले सडकमा विच्छाइएका गिट्टी र माटोका कारण सडकमा धुलो र हिलो बढेको उहाँले बताउनुभयो । यो सडक बिग्रिएर स्थानीयवासीले दुःख पाएको वर्षौ हुँदासमेत वास्ता नगरेको उहाँको आरोप छ । स्थानीयवासीले यथास्थितिमा नै कालोपत्रे गर्न माग गरेका छन् । उहाँले भन्नुभयो, “सरकारले नै त्यही निर्णय गरेकाले भएकै चौडाइमा चाँडो कालोपत्र गर्नुपर्छ ।”

ललितपुर महानगरपालिका वडा नम्वर २२ का अध्यक्ष राजेश महर्जनले सडकका कारण स्थानीयवासीले धेरै दुःख पाएको बताउनुभयो । निर्माणका लागि भत्काउन थालेको लामो समय हुँदा पनि सडक कालोपत्र नभएको उहाँले बताउनुभयो । अहिले ग्राभेल हाल्दा सडकको अवस्था अझै बिग्रिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सडक चाँडो बनोस् भन्ने सबैले चाहेका छन् ।”

काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले वर्षा पहिले सडक कालोपत्र गर्न नसकिने हुँदा ग्राभेल गरिएको जनाएको छ । यो सडकमा मापदण्डअनुसार चौडाइ कायम गरेर मात्रै निर्माण गर्न खोजिएकाले लामो समय लागेको आयोजना प्रमुख गुरु अधिकारीले बताउनुभयो । सडकको चौडाइ २० मिटर हुने गरी चार वर्ष पहिले ठेक्का सम्झौता भएको थियो । २० मिटर गर्न नसकिएपछि १६ मिटर चौडाइ कायम गर्ने गरी जनप्रतिनिधि, स्थानीयवासी र आयोजनाबीच सहमति भएको थियो । १६ मिटरभित्रै घर भएका स्थानीयवासीसमेत सडकका लागि जग्गा दिन नमानेपछि सडक अलपत्र बनेको थियो ।

सडक निर्माण चौडाइकै कारण अघि नबढ्दा सरकारले उपलब्ध चौडाइमै कालोपत्र गर्ने निर्णय गरेको थियो । पहिले सडकमा खाल्डा भएकाले त्यो हटाउन ग्राभेल हालिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ठूला खाल्डा हटाउनकै लागि ग्राभेल हालेर रोलिङ गरिएको हो ।”

सो सडकमा गोदावरीको साढे तीन किमी सडक मात्रै १६ मिटर चौडाइ कायम गर्न सकिने अवस्था छ । बाँकी सडकमा अहिले १६ मिटरभन्दा कम चौडाइ रहेको प्रमुख अधिकारीले बताउनुभयो । उहाँका अनुसार सडकमा कतै कतै चार÷पाँच मिटरको चौडाइ छ । चौडाइ कम भएका स्थानमा पैदल यात्रुमार्ग, ह्युमपाइपलगायतका संरचना बनाउन गा¥हो हुन्छ । उहाँले भन्नुभयो, “एक साइटबाट भए पनि नाली बनाउने कि भन्ने छलफल भएको छ ।”

विस्तारका क्रममा रहेको सडकमा कर्मनाशा खोलाबाट हरीसिद्धिसम्म ललितपुर महानगरपालिका पर्छ भने साविक ठैब र गोदावरी गाविस गोदावरी नगरपालिकामा पर्छ । निर्माण व्यवसायीले काम गर्न चाहे पनि आफैँले निर्माणस्थल खाली गर्न नसकिएको आयोजनाले बताउँदै आएको छ । टौखेलदेखि गोदावरी सडकमा भने निर्माण भइरहेको प्रमुख अधिकारीले बताउनुभयो

सात दशमलव छ किलोमिटर लम्बाइको यो सडक निर्माणको ठेक्का सम्झौता विसं २०७३ असारमा भएको थियो । सडक निर्माणको ठेक्का आयोजनाले आशिष सीएम जेभी र लामा समानान्तर जेभी गरेर दुई कम्पनीलाई दिएको छ । ठेक्का अवधि गत कात्तिकमा सकिएको छ । काठमाडौँ उपत्यकाका अरू सडकमा जस्तै यहाँ पनि स्थानीयवासीको अवरोध नै निर्माण अवरुद्ध हुनुको कारण बनेको छ ।

सरकारले चार वर्ष पहिले उपत्यकामा १० सडक र दुई पुलको विस्तार शुरु गरेको थियो । तीमध्ये अहिलेसम्म त्रिपुरेश्वरबाट कलङ्की हुँदै नागढुङ्गासम्मको सडक विस्तार मात्रै सम्पन्न भएको छ । निर्माण भइरहेका स्थानमा पनि उपलब्ध चौडाइमै कालोपत्र भइरहेको छ । सरकारले त्यहाँ रहेका घरटहरा हटाएर काम गर्न खोज्दा स्थानीयवासीले सङ्गठित रूपमा अवरोध गर्दै आएका थिए । लामो समयसम्म पनि सडक निर्माण अघि बढ्न नसकेपछि चावहिल–साँखु र ढोलाहिटी–लेलेलगायतका सडकमा उपलब्ध चौडाइमा निर्माण अघि बढेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi