आधारभूमि संवाददाता
काठमाडौं, असार १९
जेठ महिनामा १ खर्ब रेमिट्यान्स आएपछि सरकार अलि ढुक्क भएको छ । राजस्व आम्दानीमा बृद्धि र रेमिट्यान्समा भएको बृद्धिका कारण अर्थतन्त्र पुरानै लयमा फर्कन लागेको अर्थमन्त्री युवराज खतिवडा बताउँछन् ।
अन्य समयमा औसतमा ७५ अर्ब हारहारी मात्रै रेमिट्यान्स आउने गरेकोमा जेठमा ह्वात्तै बढेर १ खर्ब पुगेको छ । रेमिट्यान्स बढेसँगै यसबाट उपभोग बढ्ने निश्चीत हुन्छ । उपभोग बढ्दा आयात बढ्ने र जसले समग्र राजस्व आम्दानी नै बढाउँछ ।
त्यसैले नै सरकारले अब बैदेशिक रोजगारीमा जानलाई युवालाई प्रोत्साहन गर्ने खतिवडाको भनाई छ । बैशाख मसान्त सम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३६.८ प्रतिशतले घटेको थियो ।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.८ प्रतिशतले बढेको थियो ।
बैशाख मसान्त सम्ममा शोधनान्तर स्थिति १ खर्ब २० अर्ब ९० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६८ अर्ब २० करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको दश महिनासम्म ६० करोड २ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा १ अर्ब १ करोडले बचतमा रहेको छ । जेठ महिनामा यस्तो सोधानान्तर स्थिती अझै बढ्ने आकलन गर्न सकिन्छ ।
प्रत्यक्ष वैदेशिक लगानी१७ अर्ब ४२ करोड भित्रिएको छ । २०७६ असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८.९ प्रतिशतले बृद्धि भई २०७७ बैशाख मसान्तमा १२ खर्ब ३५ अर्ब २५ करोड पुगेको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७७ बैशाख मसान्तमा १० अर्ब २५ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा ९०२ अर्ब ४४ करोड रहेकोमा २०७७ बैशाख मसान्तमा १०७५ अर्ब १९ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा १३६ अर्ब ४७ करोड रहेकोमा २०७७ बैशाख मसान्तमा १६० अर्ब ७ करोड पुगेको छ ।