काठमाडौँ, १७ असार
राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले छुम्बी लामा र धर्मराज गिरीलाई नेपाल क्रिकेट सङ्घ (क्यान)को कार्यसमिति सदस्यका लागि सिफारिस गरेको छ । परिषद्बाट क्यानमा दुई सदस्य मनोनयन गर्ने प्रावधानअनुरुप लामा र गिरीलाई राखेपले सिफारिस गरेको हो ।
लामा र गिरीको मनोनयनसँगै क्यान कार्यसमितिले नौ महिनापछि पूर्णता पाएको छ । दुवै जनालाई राखेपले मङ्गलबार आधिकारिक पत्र प्रदान गरेको छ । लामाले आफूले लामो समयसम्म दिएको योगदानको राखेपले कदर गरेको बताउनुभयो । उहाँले क्रिकेट विकासमा आफू लागिपर्ने उल्लेख गर्नुभयो । लामासित क्यानका पूर्वअध्यक्ष टङ्क आङबुहाङको टोलीमा रहेर काम गरेको अनुभव छ । उहाँले यसअघि क्यानमा चिफ अपरेटिङ अफिसरका रूपमा काम गरिसक्नुभएको छ । लामा पोखरा प्रिमियर लिग (पिपीएल)को आयोजक क्वीन्स इभेन्टका प्रबन्ध निर्देशकसमेत हुनुहुन्छ ।
यस्तै अर्का मनोनित सदस्य गिरी मदन मण्डारी स्पोर्ट्स फाउण्डेशनको क्रिकेट विभागका उपाध्यक्ष हुनुहुन्छ । राखेपले यही असार १० गतेको सदस्यसचिवस्तरीय निर्णयबाट लामा र गिरीलाई क्यान कार्यसमिति सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो । रासस