neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रतिकिलो रु १०० मा सलह किन्ने कृषिविज्ञ राईको घोषणा,सलह भुटेर विद्यार्थीलाई विभिन्न परिकार बनाएर खुवाउने

प्रतिकिलो रु १०० मा सलह किन्ने कृषिविज्ञ राईको घोषणा,सलह भुटेर विद्यार्थीलाई विभिन्न परिकार बनाएर खुवाउने

Jun 30th, 2020

खोटाङ, १६ असार

कृषिविज्ञ मदन राईले प्रतिकिलो रु १०० मा सलह खरिद गर्ने घोषणा गर्नुभएको छ । भारतबाट तराई प्रवेश गरेको सलह खोटाङका विभिन्न स्थानीय तहमा शनिबार एकैसाथ देखिएपछि कृषिविज्ञ राईले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिकिलो रु १०० मा खरिद गर्ने बताउनुभएको हो ।

“कसैले समाएर ल्याइदिए किलोको रु १०० ले, एक हजार किलोसम्मको रु एक लाख भुक्तानी गरिनेछ”, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सुभद्रा मदन फाउण्डेशन सञ्चालन गरिरहनुभएका कृषिविज्ञ राईले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “माछामासुको सट्टामा सलह भुटेर विद्यार्थीलाई विभिन्न परिकार बनाएर खुवाउनेछौँ ।”

कृषिविज्ञ राईले आइतबार लेख्नुभएको फेसबुक स्टाटसमा भनिएको छ, “पक्रेर ल्याएको सलहबाट केही पशुपक्षीको दाना बनाउँछौँ । सिद्राको सट्टामा यसको प्रयोग गर्नेछौँ । केही हामीसँग भएको सबैखाले पक्षीलाई खुवाउने छौँ ।” उहाँले सलह किरा नियन्त्रणका नाममा विष किनेर घुस खाने माध्यम नबनाउन र वातावरण विषालु नबनाउन आग्रह गर्नुभएको छ । विषले सलह मरे पनि उक्त मरेको सलह खाने पशुपक्षीसमेत मर्ने हुँदा सलह नियन्त्रणका नाममा विष प्रयोग नगर्न सरकारलाई आग्रह गरिएको राईको भनाइ छ ।

ठूलो समूहमा उडेर एक ठाउँबाट अर्को ठाउँमा पुग्ने सलह हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न स्थानमा देखिएको छ । “बालीनालीमा देखिएको छैन”, हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले भन्नुभयो, “लगातार परिरहेको पानीले रोकेर घरको भित्तामा ओत लागेको हुन सक्छ ।”

शनिबार बिहान बुटवल आसपासबाट फैलिएको सलह किरा जिल्लामा पनि देखिन थालेपछि किसानमा त्रास फैलिएको छ । जिल्लाका विभिन्न ठाउँमा एकसाथ सलह देखिएपछि जिल्लास्थित स्थानीय तह तथा कृषि ज्ञान केन्द्र खोटाङको आपतकालीन बैठक बसेर नियन्त्रणको प्रयास थालिएको छ ।रासस

aadharbhumi
aadharbhumi
aadharbhumi