आधारभूमि संवाददाता
काठमाडौं, असार १५
बजारमा अहिले निक्षेप गर्नेहरु बढेका छन् । जसका कारण बैकिङ क्षेत्रमा अधिक तरलता छ । राष्ट्र बैंकका अनुसार अहिले बैकिङ क्षेत्रमा १ खर्ब ३ अर्ब बराबर तरलता छ ।
राष्ट्र बैंकका अनुसार तरलता जेठ मसान्तमा ६५ अर्ब थियो । अहिले ३८ अर्ब ले बढेर १ खर्ब ३ अर्ब रुपैयाँ पुगेको छ । लकडाउनसँगै आर्थिक क्रियाकलाप ठप्प हुँदा यसले बैंकमा कर्जाको माग पनि घटाएको छ ।
सवारी साधन तथा घर जोड्नेहरु पनि यतिबेला आगामी दिनमा लकडाउन भएमा दैनिक खर्च चाहिन्छ भनेर खर्च नगरि बसेका छन् । आफुसँग भएको रकम पनि उनिहरुले अहिले बैकमा लगेर थुपारेका छन् ।
यसरी भविष्यका लागि भनेर खर्च नगरि बैंकमा लगेर पैसा गर्ने क्रम बढेपछि बैंकमा पैसा थुप्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
ऋणको माग नभएकाले बैंकहरुबीच हुने कारोबार अर्थात अन्तर बैंक ब्याजदर २ प्रतिशत भन्दा तल ओर्लिएको छ । जबकि गत वर्ष यहि समयमा यस्तो ब्याजदर ४ प्रतिशत हाराहारी थियो । ऋण प्रवाह नभएकाले ब्याज आम्दानी खुम्चिइ मुनाफा घट्ने भय बैंक व्यवस्थापनमा छ ।
व्यापार विस्तारका लागि जेठ असार उपयुक्त समय मानिने गरेपनि अहिले ऋणको माग छैन । महामारी फैलिएकाले उद्योगी व्यापारीले आफूसँग भएको रकम पनि बैंकमै जम्मा गरिरहेका छन् ।
उद्योगी व्यवसायीले व्यापार विस्तारका लागि ऋण माग्नुको साटो आफूसँग भएको रकम पनि बैंकमै जम्मा गर्न थालेका छन् । आर्थिक गतिविधि शिथिल भएपछि सरकारले करिब तीन महिना लामो लकडाउन खुकुलो बनाएको त छ, तर उद्योगी व्यवसायी उत्साहित छैनन् ।
गत महिना नेपाल राष्ट्र बैंकले अधिक तरलता हुन नदिन २० अर्ब खिचेको थियो । साथै सरकारले चैत मसान्तयताएक खर्ब ७५ अर्ब आन्तरिक ऋण उठाएको छ । यसका बाबजुद सरकारी खर्चमा भएको वृद्धि र खर्च गर्ने ठाउँ साँघुरिएकाले विप्रेषणबापत आएको रकम पनि निक्षेपका रुपमा बैंकमै जम्मा भएको छ ।