neapl investment mega bank
  • गृहपृष्ठ
  • दिल्लीका विद्यालय अझै एक महिना बन्द रहने

दिल्लीका विद्यालय अझै एक महिना बन्द रहने

Jun 27th, 2020

नयाँदिल्ली,१३ असार

भारतको दिल्ली राज्यका विद्यालयहरु कम्तीमा अझै एक महिना बन्द नै रहने भएका छन् । राज्यका उप मुख्यमन्त्री मनिष सिसोडियाले आगामी जुलाई ३१ तारिखसम्म राज्यभरीका विद्यालयहरु बन्द नै रहने निर्णय भएको जानकारी दिनुभयो ।

लामो समयदेखि बन्द रहेका विद्यालयहरु कोरोनाभाइरसको त्रासका कारण अझै पनि सूचारु गर्ने अवस्था नरहेको उहाँको भनाई छ । दिल्ली राज्यको शिक्षा मन्त्रालयको जिम्मेबारी समेत लिनु भएका उप मुख्यमन्त्री सिसोडियाले सरोकारवाला उच्च सरकारी अधिकारीहरुसँगको बैठकले पनि तत्काल विद्यालयहरु खोल्ने अवस्था नरहेको ठहर गरेको जानकारी दिनुभयो ।

बैठकमा लकडाउन र कोरोनाभाइरसको अवस्थासँगै शैक्षिक क्रियाकलापलाई कसरी अगाडी बढाउने भन्ने बारेमा छलफल भएको थियो । विभिन्न योजनाहरु र तथ्य तथा तथ्यांकहरुमाथी एक एक गरेर बैठकमा छलफल गरेर विद्यालय बन्द रहने निर्णयलाई आगामी जुलाई ३१ सम्म कायमै राख्ने निर्णय भएको उप मुख्यमन्त्रीको कार्यालयद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

प्रदेश मन्त्रालयको तर्फबाट उहाँले केन्द्रिय मानव श्रोत विकास मन्त्री रमेश पोख्रियाललाई यसअघि नै यस विषयमा पत्राचार गरिसक्नु भएको थियो । उहाँले विद्यालयहरुका लागि नयाँ नियम ल्याउन सुझाव पनि दिनुभएको छ । उहाँले जिल्लागत रुपमा सरकारी तथा नीजि विद्यालयका शिक्षक तथा प्राध्यानाध्यापक, विद्यार्थी, अविभावकलगायतसँग गरिएको सर्वेक्षणका आधारमा विभिन्न निष्कर्षहरु निकालिएको र ती सवै विषय केन्द्रिय सरकारलाई पठाइएको बताउनुभयो ।

सर्वेक्षणबाट विद्यार्थीहरुको पढाई र विद्यालय पुनः सञ्चालन बारे फरक फरक प्रकारका सुझाव तथा उपायहरु संकलन भएको वक्तव्यमा लेखिएको छ । उनीहरुले प्राथमिक तहको पढाई सञ्चालन गर्दा हप्तामा एक वा दुई दिन मात्रै गर्न र प्रत्येक कोठामा १२ देखि १५ जना मात्रै विद्यार्थीहरु राख्न उपयुक्त हुने सुझाव दिएका छन् ।

त्यसैगरी कक्षा ३ देखि ५ सम्मका विद्यार्थीका लागि एक एक दिन विराएर पालै पालो कक्षा सञ्चालन गर्न अर्को सुझाव आएको पनि वक्तव्यमा उल्लेख गरिएको छ । विद्यालयमा जाने व्यवस्था गर्दा पर्याप्त सेनिटाइजरको व्यवस्था गर्नु पर्ने, विद्यार्थीलाई मास्क वितरण गर्नु पर्ने, विद्यालयको प्रवेशद्धारमा हरेक दिन हरेक विद्यार्थीको ज्वरो नाप्नु पर्नेलगायतका आधारभूत स्वास्थ्य सतर्कता अप्नाउनु पर्ने उनीहरुको सुझाव छ ।

संभव भएसम्म अनलाईन अध्ययन अध्यापन कार्यलाई निरन्तरता दिनु पर्ने कुरामा अधिकांशको जोड रहेको छ । कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई हप्तामा एक वा दुई वा तीन दिन मात्रै र कक्षा ९ र १० का विद्यार्थीहरुलाई सानो सानो समूह बनाएर हप्तामा एक वा दुई दिन मात्रै अध्यापन गराउन पनि शिक्षा मन्त्रालयलाई सुझाव आएको छ ।

कतिपयले कक्षा १० का विद्यार्थीहरुलाई उच्च सतर्कता अप्नाउन लगाएर सामाजिक दुरी कायम गर्दै दैनिक पढाउन पनि सकिने तर अनलाईन अध्यापनलाई भने निरन्तरता नै दिनु पर्नेमा विषेश जोड दिएका छन् ।

सुझाव दिनेहरुले कक्षा ११ र १२ को अध्ययन अध्यापन कार्य एक एक दिन विराएर गर्न सकिने वा अनलाईनबाट हुने अध्यापन कार्यलाई थप प्रभावकारी बनाउन सकिने सुझाव दिएका छन् ।
जसरी पढाए पनि दिनमा तीन वा चार घण्टा मात्रै पढाउनु उपयुक्त हुने अधिकांशको भनाई रहेको उप मुख्यमन्त्रीको कार्यालयद्धारा जारी वक्तव्यमा लेखिएको छ ।

भावी दिनमा प्रारम्भिक चरणमा विद्यालयहरु सूचारु गर्दा माथी उल्लेखित सुझावहरुलाई मध्यनजर गरेर गर्न आफुहरुले पनि केन्द्रिय सरकारलाई सिफारिस गरेको उप मुख्यमन्त्री सिसोडियाले बताउनुभयो । एएनआई