neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीबाट नेपाल प्रहरी महिला फुटबल टिमका खेलाडी तथा प्रशिक्षकलाई खेल सामग्री वितरण

प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीबाट नेपाल प्रहरी महिला फुटबल टिमका खेलाडी तथा प्रशिक्षकलाई खेल सामग्री वितरण

Jun 26th, 2020

काठमाडौं, १२ असार

नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले नेपाल प्रहरी महिला फुटबल टिमका १३ जना खेलाडीहरु तथा १ जना प्रशिक्षकलाई खेल सामग्री वितरण गर्नुभएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा शुक्रबार आयोजित एक कार्यक्रमबीच उहाँले उक्त खेल सामग्री वितरण गर्नुभएको हो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक ज्ञवालीले खेलाडीहरुलाई बधाई दिँदै खेलकुदको श्रीवृद्धि र विकासमा नेपाल प्रहरीले विगतदेखि पुर्‍याउँदै आएको योगदानबारे चर्चा गर्नुभयो । खेलकुदले अनुशासन र व्यक्तित्व विकासमा मात्र नभई शारीरिक एवम् मानसिकरुपमा तन्दुरुस्ती राख्न मद्दत पुग्ने विचार उहाँले व्यक्त गर्नुभयो ।

नेपालमा सम्पन्न भएको १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा प्राप्त गरेको सफलताले खेलकुदप्रति नेपाल प्रहरीलाई थप जागरुकता तथा हौसला प्राप्त भएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले खेल र खेलाडीबाट नेपाल प्रहरी कहिल्यै अछुतो नरहने बताउनुभयो । खेलकुद विकासको लागि प्रहरी संगठन सदैव कटिवद्ध रहेको उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा धन्यवाद ज्ञापन व्यक्त गर्दै नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव एवम् राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक तारिणी प्रसाद लम्सालले खेलकुदको माध्यमबाट नेपाल प्रहरीमा आवद्ध खेलाडीहरुले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेपाल प्रहरीको छविलाई अझ उच्च बनाउन निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो । संगठन प्रमुखबाट प्राप्त निर्देशनले खेलाडीहरुलाई थप हौसला प्रदान भएको उहाँले बताउनुभयो ।
उक्त अवसरमा सोही प्रतिष्ठानका सह(निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक रविन्द्र केसीले स्वागत मन्तव्य व्यक्त गर्नुको साथै कार्यक्रमबारे जानकारी प्रस्तुत गर्नुभएको थियो ।

खेलकुद क्षेत्रको प्रवर्द्धनमा संस्थागत सहयोगको प्रचलित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास बमोजिम २०७६ मंसिर ११ गते नेपाल प्रहरी र नेपाल टेलिकमबीच भएको सम्झौता अनुरुप नेपाल प्रहरीको पुरुष तथा महिला फुटबल टिमलाई नेपाल टेलिकमले प्रायोजन गर्ने भनी उल्लेख भएको थियो । सोही सम्झौता अनुरुप प्रायोजित रकममध्येबाट नेपाल प्रहरीको महिला फुटबल टिमका खेलाडी तथा प्रशिक्षकलाई उक्त खेल सामग्री हस्तान्तरण गरिएको कार्यक्रममा जानकारी दिइयो ।
२०७६ मंसिर १५ देखि २४ गतेसम्म नेपालमा संचालन भएको १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपाल प्रहरीबाट ९२ जना खेलाडीहरु १९ खेलमा सहभागी भएका थिए । नेपालले प्राप्त गरेका कुल २ सय ६ पदकमा नेपाल प्रहरीका खेलाडीहरुले १६ स्वर्ण, २६ रजत र १४ कास्य गरी कुल ५६ पदक प्राप्त गरेका थिए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक शैलेश थापा क्षेत्री, प्रहरी नायव महानिरीक्षक, प्रहरी वरिष्ठ उपरीक्षकहरु, नेपाल प्रहरीको महिला फुटबल टिमका खेलाडी तथा प्रशिक्षक लगायतको उपस्थिति रहेको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi