neapl investment mega bank
  • गृहपृष्ठ
  • तनहुँका स्थानीय तहले ल्याए सात अर्बको बजेट

तनहुँका स्थानीय तहले ल्याए सात अर्बको बजेट

Jun 26th, 2020

दमौली, १२ असार/ रासस
तनहुँ जिल्लाका दश स्थानीय तहले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि करीब सात अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेका छन् । चार नगरपालिका र छ गाउँपालिकाले छ अर्ब ९२ करोड ५२ लाख ८७ हजार दुई सय ४० रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेका हुन् ।

व्यास नगरपालिकाले एक अर्ब ५२ करोड ९७ लाख ५१ हजार रुपैयाँ , शुक्लागण्डकी नगरपालिकाले एक अर्ब सात करोड सात लाख ३७ हजार रुपैयाँ, भानु नगरपालिकाले ७८ करोड ९१ लाख १२ हजार रुपैयाँ, भिमाद नगरपालिकाले ५६ करोड ५३ लाख सात हजार रुपैयाँ, ऋषिङ गाउँपालिकाले ५९ करोड ९७ लाख २० हजार दुई सय ४० रुपैयाँ, बन्दीपुर गाउँपालिकाले ५८ करोड ३२ लाख ७१ हजार रुपैयाँ, आँबुखैरेनी गाउँपालिकाले ५७ करोड ३९ लाख सात हजार रुपैयाँ, म्याग्दे गाउँपालिकाले ४७ करोड ४२ लाख २४ हजार रुपैयाँ, देवघाट गाउँपालिकाले ४० करोड ७५ लाख ५८ हजार रुपैयाँ र घिरिङ गाउँपालिकाले ३३ करोड १७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको हो ।

शुक्लागण्डकी नगरपालिकाले बाँझो जमीनलाई उत्पादनमूलक बनाउने नीति लिएको छ । नगर क्षेत्रभित्र बाँझो रहेका जमीनलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गरी कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न कार्यक्रम ल्याइएको उपप्रमुख सविता रसाइलीले जानकारी दिनुभयो । नगरपालिकाको आफ्नै भूउपयोग नीति बनाइने र कृषिको व्यावसायिकीकरण र विविधीकरणमा जोड दिने योजना बनाइएको जानकारी दिनुभयो । “वैदेशिक रोजगारबाट फर्किएका बेरोजगार युवालाई उनीहरुको सीप, योग्यता, अनुभव र क्षमताको आधारमा युवा लक्षित कार्यक्रम सञ्चालन गरिनेछ”, उहाँले भन्नुभयो ।

विगतका वर्षमा निर्धारण गरिएको कृषि उपज पकेट क्षेत्र र एक वडा : एक उत्पादन कार्यक्रमलाई निरन्तरता दिई थप पकेट क्षेत्रको पहिचान गरिने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । नगरक्षेत्रभित्र बाँझो रहेका जग्गाको पहिचान गरी कृषकलाई त्यस्ता जग्गामा खेती गर्न प्रोत्साहित गरिने र पर्याप्त बजेटको व्यवस्था गरिने उहाँले जानकारी दिनुभयो ।

जिल्लाका स्थानीय तहले कृषि, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकास लगायतलाई प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi