आधारभूमि संवाददाता
काठमाडौं, जेठ १२
रेटिङ कम्पनी इक्रा नेपाल र केयर रेटिङ नेपालका अनुसार लकडाउनका कारण बैंक तथा वित्तिय संस्थाको करिब १ खर्ब १३ अर्ब ६२ करोड बराबरको ऋण जोखिममा परेको छ ।
पर्यटन क्षेत्रका ९ वटा कम्पनीको ऋण बढि जोखिममा छ । अर्थात उनीहरुको ऋण तिर्ने क्षमता खस्केको छ् । कोरोना संक्रमण कम भएपनि यो क्षेत्र तत्कालै माथि उठ्न सक्ने देखिदैन् ।
ऋण लिएर सञ्चालित कम्पनीहरुको आम्दानी न्यून र तिर्नुपर्ने ब्याजको हिस्सा धेरै भएपछि ऋणमा जोखिम बढेको भन्दै रेटिङ कम्पनीले ‘वाचलिस्ट’मा राखेकाहुन् । यसैगरि सिमेन्ट रस्टील उद्योग तथा अटोमोबाइल्स कम्पनी पनि त्यही समुहमा छन् । आर्थिक स्तर खस्केका कुल ३४ कम्पनीहरुमा बैंक तथा वित्त कम्पनीहरुले १ खर्ब १३ अर्ब ६२ करोड बराबरको कर्जा स्वीकृत गरेका छन् । यस्तो कर्जामा बैंक तथा वित्तिय संस्थाबाट मात्रै नभई स्वीकृत,प्रतितपत्र र बैंक ग्यारेन्टीपनि समावेश छ।
नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ५० करोड भन्दा माथिको कर्जा लिँदा र नविकरणगर्दा अनिवार्य क्रेडिट रेटिङ गराउनुपर्ने व्यवस्था गरेको थियो । त्यो भनेको ऋणतिर्ने क्षमता के–कस्तो छ भनेर गरिने अध्ययन हो । रेटिङ गर्दा व्यवसायको वातावरण,बिक्रीदर, उत्पादन लागत र उठ्नपर्ने बाँकी रकम के कति छ भनेर हेरिन्छ । लकडाउनका कारण आर्थिक मन्दी हुँदा मानिसको उपभोग गर्ने क्षमतामा ह्रास आएकोले अटोमोबाइल्स, स्टील र सिमेन्ट उद्योगका साथै निर्माण कम्पनीहरु जोखिममा परेकाहुन् ।
पर्यटन तथा अटोमोबाइल क्षेत्रकै भएपनि कम ऋण लिएका आफ्नै पुँजीमा सञ्चालित कम्पनीहरुको भने ऋण क्षमता कमजोर भएको छैन । आम्दानी नभएपनि ब्याज खर्च नबढेकोले तिनको लगानी तत्कालका लागि जोखिममा देखिँदैन् ।