neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रहरी समक्ष आउने सबै जिम्मेवारी पूरा गर्न प्रहरी कर्मचारीहरुले नमूनाको रुपमा प्रस्तुत भई काम गर्नुपर्छ- प्रहरी महानिरीक्षक ज्ञवाली

प्रहरी समक्ष आउने सबै जिम्मेवारी पूरा गर्न प्रहरी कर्मचारीहरुले नमूनाको रुपमा प्रस्तुत भई काम गर्नुपर्छ- प्रहरी महानिरीक्षक ज्ञवाली

Jun 25th, 2020

सर्लाही, ११ असार

प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले बद्लिदो परिस्थिति अनुसार नेपाल प्रहरी समक्ष आउने सबै किसिमका जिम्मेवारीहरु पूरा गर्न प्रहरी कर्मचारीहरुले आफूलाई नमूनाको रुपमा प्रस्तुत गरी काम गर्नुपर्ने बताउनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीको परिसरमा नवनिर्मित कार्यालय भवन, ब्यारेक भवन, मेस र कार्यालय प्रमुख तथा सिनियर प्रहरी अधिकृत निवासको बुधबार सोही कार्यालयमा आयोजित एक कार्यक्रमबीच उदघाटन गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले उक्त कुरा बताउनुभएको हो । भवन उदघाटन पश्चात उहाँले उक्त नवनिर्मित कार्यालय भवनहरु तथा कार्यालय परिसरको निरीक्षण समेत गर्नुभयो ।

प्रहरीको उपस्थिति नै राज्यको उपस्थिति भएकोले प्रहरीको हरेक कामकारवाही बिभेद रहित हुनुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले आफ्नो दायित्व निर्वाह गर्दा सरोकारवाला बिभिन्न निकायसँग समन्वय गरी कानूनसम्मत तथा सबैलाई समान रुपमा व्यवहार गर्दै काम गर्नुपर्ने बताउनुभयो । आवश्यक जनशक्ति तथा साधन श्रोतको कमिको वावजुद पनि उपलब्ध साधन श्रोतलाई अधिकतम प्रयोग गरी तोकिएको जिम्मेवारी पूरा गरेरै छाड्न उहाँले उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

प्रहरी महानिरीक्षक ज्ञवालीले कोरोना भाइरस (कोभिड-१९) ले सृजना गरेको बिषम परिस्थितिमा नेपाल प्रहरीले अग्रपंक्तिमा खटिएर निर्वाह गरेको भूमिकाको चर्चा गर्दै त्यस्तो परिस्थितिमा सुरक्षात्मक व्यवस्था अपनाई अझै संवेदनशील भएर नागरिकप्रति प्रदान गर्ने सेवामा उत्कृष्ट भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा २ नम्बर प्रदेश प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी नायव महानिरीक्षक धिरज प्रताप सिंहले धन्यवाद ज्ञापन व्यक्त गर्नुभएको थियो ।

नेपाल प्रहरीको नियमित बजेटबाट कुल १२ करोड ४१ लाख २९ हजार ४ सय २० रुपैयाँ लागतमा उक्त कार्यालय भवनहरु निर्माण सम्पन्न भएको सो अवसरमा जानकारी दिइयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरी, मलंगवा नगरपालिकाका प्रमुख नरसिल साह, हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाई, जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख, सर्लाही जिल्लास्थित स्थानीय सुरक्षा निकायका प्रमुखहरु, स्थानीय तहका प्रतिनिधिहरु, स्थानीय संचारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi