neapl investment mega bank
  • गृहपृष्ठ
  • पशुपतिनाथको मूल मन्दिर क्षेत्रमा मर्मतसम्भार जारी

पशुपतिनाथको मूल मन्दिर क्षेत्रमा मर्मतसम्भार जारी

Jun 24th, 2020

काठमाडौँ, १० असार

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले बन्दाबन्दी लागू गरिएपछि बन्द गरिएको पशुपतिनाथको मूल मन्दिर क्षेत्रभित्र मर्मतसम्भार शुरु गरिएको छ ।

मूल मन्दिरभित्र छापिएको ढुङ्गा हल्लिएकाले खाली भएका बेला निकालेर मर्मतसम्भार शुरु गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिनुभयो । हल्लिएका ढुङ्गा निकालेर पुटिङ भर्ने काम भइरहेको छ ।

मूल मन्दिरभित्रको चन्दन घोट्ने घर जीर्ण भएकाले भत्काइएको छ । चन्दन घोट्न र भण्डारी सुत्नका लागि महेन्द्र सहारा सत्तल प्रयोगमा ल्याइएको पनि उहाँले बताउनुभयो । चन्दन घोट्ने घरसँगैको भान्छा घर गत वर्ष नै भत्काएर पुनःनिर्माण भइरहेको छ । यी संरचना विसं २०७२ वैशाख १२ गतेको भूकम्पले जीर्ण भएका थिए ।

भूकम्पले क्षति पुगेका पशुपतिका ९० वटा संरचनामध्ये ४२ वटाको पुनःनिर्माण सम्पन्न भएको कोषका निर्देशक भरत मरासिनीले जानकारी दिनुभयो । भूकम्पपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले काम शुरु गरेको पाँच वर्षमा पुरातात्विक महत्वका सबै संरचना बनाइसक्ने प्रतिबद्धता गरे पनि पशुपति क्षेत्रका ६० वटासम्मको पुनःनिर्माण सकिने भएको कोषले जनाएको छ ।

हाल १४ वटा संरचना पुनःनिर्माणका लागि खरिद प्रक्रियामा रहेको छ । बन्दाबन्दीपछि जयवागेश्वरी मन्दिरको पुनःनिर्माण शुरु भएको छ । प्राधिकरणको कार्यकाल आगामी माघ दोस्रो साता सकिँदैछ । यसैगरी मृगस्थली क्षेत्रका १० शिवालय पनि पुनःनिर्माणका क्रममा छन् । विश्वरुप मन्दिर पुनःनिर्माणका लागि विस्तृत परियोजना प्रस्ताव निर्माण सम्पन्न गरी आगामी आर्थिक वर्षदेखि काम शुरु गर्ने तयारी भएको छ । यसका लागि पुरातत्व विभागको सहमति लिने प्रक्रिया अघि बढेको जनाइएको छ ।

पशुपतिमा भक्तजन प्रवेश गराउन विशेष तयारी शुरु

पशुपतिनाथ मूल मन्दिरमा बन्दाबन्दी शुरु भएदेखि नै भक्तजनलाई प्रवेशमा रोक लगाइएको छ । असार १ गतेदेखि बन्दाबन्दीलाई खुकुलो बनाइए पनि मठमन्दिर, शैक्षिक संस्था र सार्वजनिक यातायात भने खोलिएको छैन । सरकारले मठ मन्दिरलाई खुला गरेपछि भक्तजनलाई सुरक्षित तरिकाले दर्शन गराएर फर्काउनका लागि कार्यविधि बनाएर तयारी थालिएको पनि कार्यकारी निर्देशक खतिवडाले जानकारी गराउनुभयो ।

भक्तजनलाई सरकारले तोकेअनुसारको दूरीमा राख्ने, पर्याप्तमात्रामा स्वयंसेवक खटाउने, चन्दन पातमा राखेर दिने निधारमा नलगाइदिनेलगायत व्यवस्था गर्न लागिएको कोषले जनाएको छ । आगामी असार २१ गतेदेखि मठ मन्दिर एवं सार्वजनिक यातायात दूरी कायम गरेर सेवा सञ्चालन गर्ने गरी खुला हुनसक्ने भएकाले त्यसैअनुसार तयारी गरिएको छ ।

असार १ गतेदेखि पशुपति क्षेत्रको सरसफाइका लागि सफाइकर्मीलाई विशेषरुपमा परिचालनसमेत गरिएको छ । चैत ११ गतेदेखि जारी बन्दाबन्दीका क्रममा पशुपति क्षेत्रको सबैतिर सफाइ हुन नसकेको गुनासो स्थानीयवासीबाट आएको थियो ।रासस

aadharbhumi
aadharbhumi
aadharbhumi