neapl investment mega bank
  • गृहपृष्ठ
  • स्प्रेडदर हटाउने बैंकर्सको चाहना, मनोमानी ब्याज तोक्ने दाउ

स्प्रेडदर हटाउने बैंकर्सको चाहना, मनोमानी ब्याज तोक्ने दाउ

Jun 24th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, जेठ १०

बैंकका सिइओहरुको छाता संगठन बैंकर्स एसोसिएसन्ले राष्ट्र बैंकलाई कर्जा र निक्षेप बिचको ब्याजदर अन्तरलाई हटाउन सुझाव दिएको छ । मनोमानी रुपमा ब्याज तोक्नका लागि राष्ट्र बैंक समक्ष उनिहरुले यस्तो सुझाव पेश गरेका हुन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत बैंकमा जम्मा गरिने रकम निक्षेप र ऋणको ब्याजको अन्तर ४ दशमलव ४ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमा स्प्रेडदर शुन्य दशमलव १ प्रतिशत घटाएर ४ दशमलव ४ प्रतिशत कायम गरेको थियो । स्प्रेडदर मात्रै होइन राष्ट्र बैंकले स्प्रेडदर गणना विधी समेत परिमार्जन गरेको थियो । जसमा बैंकर्सले सुरुदेखि आपत्ति जनाउँदै आएका थिए ।

यसअघि बैंकले सरकारी सुरक्षणपत्रमा गरेको लगानीबाट प्राप्त आयलाई पनि ब्याज आम्दानीमा जोड्ने र निक्षेपमा दिएको ब्याज खर्च घटाएर स्प्रेडदर निकालिन्थ्यो । तर राष्ट्र बैंकले यो आर्थिक वर्षको मौद्रिक नीति मार्फत सुरक्षणपत्रमा लगानीबाट प्राप्त आम्दानीलाई ब्याज आम्दानीमा जोड्न नपाउने व्यवस्था गर्याे ।

यसलाई अर्धवार्षिक मौद्रिक नीति मार्फत परिमार्जन गर्ने अर्थमन्त्रीले बैंकरलाई आश्वासन त दिएका थिए, तर यसमा कुनै परिवर्तन भएन । जसका कारण अहिले बैंकरहरु त यस्तो स्प्रेडदर नै आवश्यक नरहेको बताउँदै आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा यो व्यवस्था हटाउन सुझाव दिएका छन् ।

एसोसिएन्ले यो छिमेकी मुलुक भारत बंगलादेशमा र श्रीलंकमा समेत नरहेकाले यसलाई राख्न नहुने बताएको छ । तर विश्व बैंकले सन् २०१४ मा स्प्रेडदर सम्वन्धी गरेको एक अध्ययनमा ६९ मुलुकमा योे अहिले पनि कायम रहेको देखिन्छ । राष्ट्र बैंकले यसअघि स्प्रेडदर नहटाएको पनि होइन ।

राष्ट्र बैंकले २०४६ सालमा यो व्यवस्था खारेज गरेको थियो । त्यसपछि बैंकहरुले निक्षेपको ब्याज न्युन र कर्जाको माग अत्यधिक बढि तोकेपछि फेरी २०५० सालमा यस्तो व्यवस्था गरेको थियो । र यसपछि पनि २०६९ सालमा पुन खारेजी गरेकोमा बैंकहरुले पुरानै प्रवृति अर्थात कर्जाको ब्याज उच्च तोक्ने दोहोराएपछि २०७०/०७१ देखि यो निरन्तर कार्यानवयनमा छ ।

बिज्ञहरु भने निक्षेप र कर्जाको ब्याजको अन्तर बजारमा ४ दशमलव ४ भन्दा तल नजादा सम्म राष्ट्र बैंकले यस्तो व्यवस्था खारेज गर्न नहुने बताउँछन् ।