neapl investment mega bank
  • गृहपृष्ठ
  • महालक्ष्मी नगरपालिकाको आगामी कार्यक्रम कोरोना नियन्त्रणमा केन्द्रित, करको दर नबढाइने

महालक्ष्मी नगरपालिकाको आगामी कार्यक्रम कोरोना नियन्त्रणमा केन्द्रित, करको दर नबढाइने

Jun 23rd, 2020

आधारभूमि संवाददाता

ललितपुर ,असार ९

महालक्ष्मी नगरपालिकाको आसर ९ देखि शुरु नगरसभामा नगर प्रमुख रामेश्वर श्रेष्ठले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

उनले नगरपालिकाले आगामी वर्ष लिने रणनीति, योजना र कार्यक्रमको सैद्धान्तिक तयारीबारे प्रष्ट पारेका छन् । कोभिड १९ को महामारीका कारण नगरवासीका दैनिक जनजीवन एवम् जनजिवीकामा गम्भीर असर पुगेको भन्दै मेयर श्रेष्ठले चालु वर्षका विकास निर्माणका कार्यमा ठूलो अवरोध पुगेको बताएका छन् ।

नगरपालिकाले आगामी वर्ष अव्यवहारिक र असन्तुलितबाहेकका करका दर बृद्धि नगर्ने स्पष्ट पारेको छ । नीति तथा कार्यक्रममा भनिएको छ– ‘कोभिड —१९ का कारण उत्पादन र लगानीमा परेको असरलाई सम्बोधन गर्ने गरी राजस्व र करका संरचनामा पुनरावलोकन गरिने छ । अव्यवहारिक एवम् असन्तुलित करका दर समायोजन बाहेक करको दरमा बृद्धि गरिने छैन।’

विकास निर्माणका लागि विनियोजित रकम कोरोना रोकथाम तथा नियन्त्रणका लागि खर्च गर्नु परेको छ तथा योजना कार्यन्वयनको मुख्य समयमा भएको लकडाउनका कारण हरसम्भव प्रयासका वावजुद पनि विकास निर्माणका कार्यहरु अगाडि बढाउन नसकिएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

कोभिड—१९ को महामारी रोकथाम तथा नियन्त्रणका सबै पक्षहरुमा नगरपालिकाले समयमै उच्च सतर्कताकासाथ नीति¸कानून र निर्णयहरु गरी पर्याप्त तयारीका साथ विभिन्न सहयोगी संस्थाहरु तथा दाताहरुको समन्वय र साझेदारीमा सतर्कतापूर्वक सघन अभियान सञ्चालन गरेकोले नगरवासीहरुलाई हालसम्म सुरक्षित राख्न सफल भएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

समयमै कन्ट्याक्ट ट्रेसिङ टिमको गठन गरी नगरपालिकाले नगरभित्र विदेश तथा उपत्यका वाहिरबाट आएका तथा जोखिममा रहेर सेवा प्रदान गरिरहेका व्यवासायीहरु¸ कर्मचारीहरु¸ प्रहरीहरु¸ स्वास्थ्यकर्मीहरु र जनप्रतिनिधिहरुको ५ चरणमा करिव १३ सय जनाको कोरोना परीक्षण गरेको छ ।
सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक औषधि¸ उपकरण¸ सुरक्षाका सामग्री तथा राहत समेत समयमै प्रभावकारी ढंगले वितरण गरिएको प्रमुख श्रेष्ठले नीति तथा कार्यक्रममा उल्लेख गरेका छनन् । उनले भनेका छन्– ‘श्रम बैंकमार्फत राहतलाई कामसँग जोडेर प्रभावकारी ढंगले कार्यान्वयन गरिएको छ । यस महामारीको अवधिमा नगर क्षेत्रमा कसैलाई भोकै बस्न नपर्ने व्यवस्था मिलाइएको छ ।’

नीति तथा कार्यक्रममा लेखिएको छ ‘कोभिड संक्रमणको जोखिममा रहेका व्यक्तिहरुलाई सुरक्षित रुपमा राखी संक्रमण विस्तार हुन नदिन वडा नं ५, ६ र ७ मा सुरक्षित आवास गृह र क्वारेन्टीन स्थापना गरिएको छ ।

त्यसैगरी आवश्यकताको आधारमा अन्य वडाहरुमा समेत सुरक्षित आवास गृहरक्वारेन्टीन स्थापना गर्ने कार्यक्रम रहेको छ ।

महालक्ष्मी नगरको दीर्घकालीन लक्ष्य सहित स्वीकृत गरिएको पाँच वर्षे नगर विकास कार्ययोजनाको निरन्तरता तथा कोभिड—१९ को महामारी विरुद्दको लडाईं र यसका असरलाई न्यूनीकरण गरी आर्थिक पुननिर्माणको दिशामा यस वर्षको नीति तथा कार्यक्रम अगाडि सारिएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi