काठमाडौ, असार ९
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले कोभिड–१९ विरुद्धको संघर्षमा सरकारले प्रतिरोध, बेसार र अदुवाको मात्र भर नगरी भयावह अवस्था नियन्त्रण गर्न सजग र सक्रिय हुनुपर्ने बताएका छन् ।
सरकारकै नीति र परिपत्र अुनरूप काम अघि बढ्दा सुदूरपश्चिम जस्तो सानो प्रान्तमा पनि संक्रमितको संख्या एक हजार नाघ्न थालेको, स्थिति भयावह बनेको भन्दै राणाले चिन्ता व्यक्त गरेका छन् । सोमबार ट्वीट गर्दै उनले भने, ‘पीसीआर रिपोर्ट आउन ढिला भएपछि सुदूरपश्चिम प्रान्तका विभिन्न क्वारेन्टिनमा राखिएका व्यक्तिहरू घर पठाइयो । रिपोर्ट जब आयो धेरैमा संक्रमण देखियो । तिनलाई फिर्ता बोलाइ आइसोलेसनमा राख्न पर्यो । लक्षण नदेखिएकालाई पनि सरकारले घर पठायो । घरघरमै आइसोलेसनमा बस्ने निर्देशन दुर्भाग्यवश पालना भएन ।
नेपाल सरकारको काम कारवाही नै त्रुटीपूर्ण रहेको राणाको ठहर छ । उनले भने, ‘यी दुई कारणले सुदूरपश्चिम जस्तो सानो प्रदेशमा पनि संक्रमण ह्वात्तै बढ्यो । संक्रमित संख्या हाल १,००० नाघ्न थाल्या छ ।’ राप्रपा अध्यक्ष राणाले भने, ‘यस्तो गैरजिम्मेवार व्यवहार दोहोरिन दिन भएन । भयावह परिस्थिति तुरुन्त नियन्त्रणमा लिन नेपाल सरकार सजग र सक्रिय हुनुपर्यो । प्रतिरोध, बेसार र अदुवाको मात्र भर गर्न भएन ।’