neapl investment mega bank
  • गृहपृष्ठ
  • ३ वर्ष देखी भक्तपुर र ललितपुर जोड्ने सडक निर्माण कार्य अलपत्र

३ वर्ष देखी भक्तपुर र ललितपुर जोड्ने सडक निर्माण कार्य अलपत्र

Jun 20th, 2020

आधारभूमि संवाददाता
ललितपुर, ६ असार

भक्तपुर र ललितपुर जोड्ने एक मात्र मुख्य सडक नाका विगत ३ वर्षदेखी अलपत्र छ । मर्मतको नाममा सडक बन्द छ र मर्मत सकिएको छैन । बालकोट र चङ्गाथली जोड्ने उक्त सडक बन्दका कारण ललितपुरका चङ्गाथली, लुभु, लामाटारका बासिन्दा वर्षामा नाकाबन्दी जस्तै जिवन जिउन बाध्य छन् ।

लुभु र टिकाथली स्थित गोदावरी खोलामा पुल निर्माण अलपत्र परेकोले यस क्षेत्रका बासिन्दा भक्तपुर स्थित बालकोटको यो बाटो प्रयोग गर्दै आवत जावत गर्ने गर्छन । तर उक्त बाटो पनि विगत ३ वर्ष देखी मर्मत सम्भारको नाममा वर्षायाममा बन्द हुने गर्छ । बाटो बन्द भए पछि हजारौं मानिस प्रभावित भएका छन् ।

करिब २ सय मिटर बाटो मर्मत गर्न ३ वर्ष लागेकोमा स्थानियवासी रुष्ट छन् । ठेकेदारले ठेक्का लिएपछि बाटोमा ढुंगा असरल्ल छोडेको छ तर काम भने गरेको छैन । एउटा नाका जोड्ने, हजारौं जनता प्रभावित हुँदा पनि स्थानिय जनप्रतिनिधीले ताकेता गरेका छैनन् । जाबो यति थौरै बाटोलाई देखाएर वर्षौदेखी बजेट ल्याएर काम नसक्नेले देश विकास गर्छन भन्ने विश्वास नभएको एक स्थानियले बताए ।

महेश बस्नेतको क्षेत्रमा विकासको गतिबिधी धेरै भएको प्रचार सुनिएता पनि यो ललितपुर जोड्ने एक मात्र प्रमुख नाकामा भने ध्यान नगएको स्पष्ट देखिन्छ । बाटोलाइ लगातार काम गरेको भए ३ वर्ष अघि नै काम सम्पन्न हुने बाटो प्रयोगकर्ता दिपक थापाले बताए । लगातार वर्षौ देखी वर्षायाममा बाटो मर्मत गरेकोले खानेपानीको पाइप वर्षेनी नयाँ फेर्नै पर्ने र बालबालिकालाई हिड्न समेत सकस भएको स्थानियले बताए ।

सडकले दुई जिल्लामात्र जोड्दैन । दुई जिल्लाको सामाजिकता, धर्म, संस्कृती, रितिरिवाज, आत्मियता, सहकार्यता जोड्ने गर्छ । तर यो बाटोले पारेका असुविधाले ललितपुरका चङ्गाथली, लुभु, लामाटारका बासिन्दा रुष्ट भएका छन्। प्रदेश सांसद शसीजंग थापा यस विषयमा बुझ्दा कोराना भाइरसका कारण भएको लकडाउनले गर्दा काम समयमै पुरा नभएको बताए । महालक्ष्मी नगरपालिकाका वडा नं ७ का वडाध्यक्ष नकुल थापाले छिट्टै उक्त बाटो संचालनमा आउने बताए । उनले भने, “१ वर्ष भित्र यो बाटोको काम सम्पन्न हुन्छ । यहाँका स्थिानियबासी र बाटो प्रयोगकर्ताले केही समय धैर्य गरिदिनु पर्यो ।”

aadharbhumi
aadharbhumi
aadharbhumi