आधारभूमि संवाददाता
काठमाडौँ, ५ असार
पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा ४२६ जनामा सङ्क्रमण देखिएको बताए । नयाँ संक्रमित मध्ये ८८ जना महिला र ३३८ जना पुरुष रहेका छन् ।
योसँगै संक्रमितको कूल संख्या ८२७४ पुगेको छ भने सङ्क्रमणबाट निको भइ १४०२ जना घर फर्किसकेका छन् । पछिल्लो २४ घण्टामा २०७ जना पुरुष र ९ जना महिला कोरोनामुक्त भएका छन्। हालसम्म कोरोनाबाट २२ जनाको मृत्यु भएको छ ।