neapl investment mega bank
  • गृहपृष्ठ
  • भारत चीन विवादबारे छलफल गर्न भारतीय प्रधानमन्त्री मोदीद्धारा सर्वदलीय बैठक आह्वान

भारत चीन विवादबारे छलफल गर्न भारतीय प्रधानमन्त्री मोदीद्धारा सर्वदलीय बैठक आह्वान

Jun 19th, 2020

नयाँ दिल्ली,५ असार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनसँग पछिल्लो समयमा जारी सीमा विवाद तथा आफ्ना सेना मारिएको विषयमा छलफल गर्न शुक्रबार भारतका सबै राजनीतिक दलहरुको संयुक्त बैठक बोलाउनुभएको छ ।

प्रधानमन्त्रीले शुक्रबार अपराह्न ५ बजेका लागि सो भर्चुअल बैठक बोलाउनुभएको प्रधानमन्त्रीको कार्यालयद्धारा जानकारी गराइएको छ । सो बैठकमा भारतका प्रमुख राजनीतिक दलहरुका अध्यक्षहरुको सहभागिता रहने बताइएको छ । भारत र चीनबीचको लद्दाखस्थित ग्वालन भ्यालीलीमा यही जुन १५ को राति भारत र चीनका सीमा सुरक्षा सैनिकबीच झडप भएको बताइएको थियो ।

त्यस झडपमा भारतका कम्तीमा पनि २० जना सैनिकको ज्यान गएको भारतले जनाएको छ । उक्त हिंसापछि भारत र चीनबीच सीमा विवाद बढ्दो रहेको देखिएको छ । यी दुई देशकाबीचमा सीमा क्षेत्रको विषयलाई लिएर भएको हिंसाप्रति संयुक्त राष्ट्रसंघले पनि चासो व्यक्त गरेको बताइएको छ ।

सीमामा भएको यो हिंसाप्रति संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले पनि चासो व्यक्त गर्नुभएको थियो । भारत र चीनबीचको सीमामा भएको विवाद र सैनिक झडपमा परी भारतीय सैनिकको ज्यान गएको घटनाबारे उहाँले चासो व्यक्त गर्नुभएको हो ।

साथै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सो विषयमा वार्ताको माध्यमबाट विवादको समाधान खोज्नका लागि पनि हालैमात्र आह्वान गर्नुभएको थियो । एएनआई