neapl investment mega bank
  • गृहपृष्ठ
  • प्राधिकरणले १० प्रतिशत विद्युत महसुल घटायो, विद्युतीय सवारी चार्जिङ प्रोत्साहन

प्राधिकरणले १० प्रतिशत विद्युत महसुल घटायो, विद्युतीय सवारी चार्जिङ प्रोत्साहन

Jun 18th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, असार ४

नेपाल विद्युत प्राधिकरणले घरायसी प्रयोजनको विद्युत महसुल १० प्रतिशतले घटाएको छ । साथै विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्न रातमा गरिने सवारी चार्जिङको शुल्क पनि घटाएको छ।

सवारी चार्जिङका लागि राती ११ बजेदेखि बिहान ५ बजेसम्म को लागि ईनर्जी शुल्क ४ रुपैयाँ २० पैसा कायम गरिएको छ । यसबाट विद्युतीय सवारी साधनको प्रति कि.मी. विद्युत खर्च पेट्रोल गाडीको भन्दा १० गुणभन्दा बढीले कम हुने प्राधिकरणको दावी छ ।

साथै डेडिकेटेड र ट्रंक लाइनको महशुल खारेज गरेकाले औद्योगिक र व्यापारिक ग्राहकहरुको महसुल पनि करिव ६५ प्रतिशतले कम हुने भएको छ ।

सामुदायिक खानेपानी र सिँचाइ वर्गका ग्राहकहरुको डिमाण्ड चार्ज पूर्ण रुपले हटाएको छ भने सामुदायिक खानेपानी ग्राहकहरुको ईनर्जी शुल्क ५ रुपैयाँ २० पैसाबाट ४ रुपैयाँ २० पैसा कायम गरेको छ ।

सामुदायिक खानेपानी ग्राहकहरुको महशुल रातिको समयमा ३ रुपैयाँ ४० कायम गरिएको छ । जसबाट खानेपानी ग्राहकहरुको महशुल ४० देखि ५० प्रतिशत कम हुने प्राधिकरणले जनाएको छ ।

घरबेटीहरुले भाडावालसँग चर्काे महसुल असुलेको आरोप लाग्दै आएको छ । त्यसैले विद्युत नियमन आयोगले प्राधिकरणलाई घरबेटिले खपत गरेका बिलका आधारमा मात्रै महसुल लिन पाउने व्यवस्था गरेको छ । १० रुपैयाँभन्दा बढि नपर्ने भएपनि अहिले घरबेटिहरुले प्रतियुनिट १५ रुपैयाँ सम्म असुल्ने गरेका छन् ।

१ देखि १० युनिटसम्मको ५ एम्पियरका ग्राहस्थ ग्राहकलाई ईनर्जी शुल्क निःशुल्क गरिएको छ । १० युनिट भन्दा माथि खपत गर्ने ग्राहस्थ ग्राहकहरुको विद्युत महशुल अधिकतम १० प्रतिशतसम्म घटाइएको छ । यसले गर्दा इन्डक्सन कुकिङलाई प्रोत्साहन पुग्नेछ ।

सामुदायिक थोक ग्राहकहरुको २० युनिट सम्मको ईनर्जी शुल्क ४.२५ बाट ३ अर्थात ३१ प्रतिशतले कम कायम गरिएको छ । नयाँ महशुल दर अनुसार नेपालमा विद्युतको खपत आगामी दिनमा बढ्ने अपेक्षा गरिएको प्राधिकरणले जनाएको छ ।