म्याग्दी, ३२ जेठ
प्रतिनिधिसभाको बैठकले केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७ लाई सर्वसम्मतिले पारित गरेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठकमा सो विधेयक निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । यसअघि कानून, न्याय तथा तथा संसदीय मन्त्री डा शिवमाया तुम्बाहाङ्फेले विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
केही समयअघि सरकारको सिफारिमा सवैधानिक परिषद् र राजनीतिक दलसम्बन्धी नयाँ व्यवस्था कायम गर्न राष्ट्रपतिबाट अध्यादेश जारी भएको थियो । सरकारले जारी गरेको केही समयभित्रै उक्त अध्यादेश फिर्ता लिने निर्णय गरेपछि साविककै कानून कायम राख्न सोे विधेयक ल्याइएको हो ।
विधेयकलाई सरकार आफँैले फिर्ता लिएकामा स्वागत गर्दै प्रतिपक्षी सांसदहरुले राजनीतिक दलसम्बन्धी पुरानै व्यवस्था कायम राख्न सुझाव दिनुभयो । उक्त विधेयकमाथिको छलफलमा सांसदहरु खगराज अधिकारी, राजेन्द्रकुमार केसीलगायतले धारणा राख्नुभएको थियो ।
सांसदले उठाउनुभएको प्रश्नको जवाफ दिँदै मन्त्री डा तुम्बाहाङ्फेले जारी अध्यादेशले मन्त्रिपरिषद्को सिफारिसमा खारेज गरिसकेको र साविककै व्यवस्था कायम गर्न विधेयक प्रस्तुत गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पूर्ववत व्यवस्था नै कायम प्रतिस्थापन गर्न विधेयक प्रस्तुत गरिएको छ, विगतमा पनि साविकै व्यवस्था जगाउने काम थियो ।” प्रतिनिधिसभाको अर्को बैठक आगामी असार ४ गते दिउँसो १ बजे बस्ने छ । रासस