आधारभूमि संवाददाता
काठमाडौं, जेठ ३२
लकडाउनका कारण आर्थिक क्रियाकलाप बिस्तार हुन सकेका छैनन् । लगानी बिस्तार हुन नसकेका कारण बैंकमा यति बेला कर्जाको माग छैन । कर्जाको माग नभएका कारण बैंकमा पैसा थुप्रिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंकमा ६५ अर्ब बराबरको रकम तरलताको रुपमा रहेको छ ।
बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बुधबार बजारबाट २० अर्ब तरलता प्रशोचन गरेको छ । यसबाहेक चैत मसान्तयता सरकारले एक खर्ब ७५ अर्ब आन्तरिक ऋण उठाएको छ । यसका बाबजुद राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय क्षेत्रम ६५ अर्ब अधिक तरलता छ ।
लकडाउनको अघिल्लो दिन चैत १० सम्म सरकारले ६ खर्ब ३० अर्ब ६ करोड रुपैयाँ खर्च गरेको थियो । त्यसयता जेठ २९ सम्म सरकारले थप २ खर्ब ४३ अर्ब १५ करोड खर्च ग¥यो । सरकारी खर्चमा भएको बृद्धि र बिप्रेषणवापत भित्रिएको रकमका कारण लकडाउनको अवधिमाबैंक तथा वित्तीय संस्थामा १ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप जम्मा भएको छ ।
वाणिज्य बैंकहरुमा चैत मसान्त यता मात्र ५७ अर्ब निक्षेप थपिएको छ । तर ऋण विस्तार हुन सकेको छैन । बरु चैत मसान्तयताको दुई महिनामा ऋण २२ अर्बले घटेको छ । घर र गाडी किन्न ऋण लिएका कतिपयले किस्ता चुक्ता गरेकाले ऋण रकम खुम्चिएको हो ।
लकडाउनको ८१ दिनमा आर्थिक क्रियाकलाप ठप्प जस्तै भयो । सीमित क्षेत्रमा वाहेक व्यापार व्यवसाय गर्न नदिइएकाले ऋणको मागै भएन । यसअघि भूकम्प र नाकाबन्दीका बेलामा यस्तो भएको थियो ।
ऋण विस्तारको तुलनामा निक्षेपमा उच्च वृद्धिले आर्थिक क्रियाकलाप थप सुस्त हुन्छ । सरकारले शिथिल भएको अर्थतन्त्र उकास्न कोरोना भाइरसको संक्रमण फैलिरहेकै अवस्थामा लकडाउन खुकुलो पारेकाले अब ऋण लगानी बढ्ने विश्वास गरिएको छ ।
तर ऋणको माग हुनका लागि लगानीकर्ता ढुक्क हुनुपर्ने हुन्छ। लकडाउन कोरोना संक्रमणको जोखिम कम भएर होइन, रोगले भन्दा भोकले मर्ने स्थिती पैदा भएपछि खुलेको हो । कोरोनाको संक्रमण फेरी ब्यापक फैलिए लकडाउन पुन हुने सबैलाई थाहा छ । जसका कारण पनि लगानीकर्ता लगानी गर्न तम्सीएका छैनन् ।