neapl investment mega bank
  • गृहपृष्ठ
  • तिलोत्तमा हत्याकाण्ड : चरित्रमा प्रश्न उठाएपछि घटना भएको आरोपीको बयान

तिलोत्तमा हत्याकाण्ड : चरित्रमा प्रश्न उठाएपछि घटना भएको आरोपीको बयान

Jun 10th, 2020

– नीरा गौतम
रुपन्देही, २८ जेठ

रुपन्देहीको तिलोत्तमास्थित पशु फार्ममा भएको सामूहिक हत्याकाण्डका आरोपीले पटकपटक चरित्रमा आक्षेप लगाइएका कारण उक्त घटना भएको बयान दिएका छन् । हत्याकाण्डको अनुसन्धान गर्न प्रदेश नं ५ प्रहरी कार्यालयले गठन गरेको समितिले आज बुटवलमा पत्रकार सम्मेलन गरी घटनाका आरोपी सुर्खेतको साविक नेटा गाविस–३ का ३१ वर्षीय झसेन्द्रबहादुर सिञ्जालीले चरित्र हत्याकै कारण आवेशमा आएर हत्या गरेको बयान दिएको जानकारी गराएको छ ।

हत्यापछि फार्मभित्रै पराल राख्ने ठाउँमा बेहोस अवस्थामा झसेन्द्र पक्राउ परेका थिए । मुसा मार्ने विषादी सेवन गरेका कारण उनी बेहोस अवस्थामा भेटिएको र उपचारपछि ठीक भएको प्रहरीले जनाएको छ । अस्पतालमा उनले आफूलाई दुःख दिएका कारण फरुवाले हानेर हत्या गरेको बताएका थिए । प्रहरीले घटनास्थलबाट कोदालो र लठ्ठी बरामद भएको जनाएको छ ।

पत्रकार सम्मेलनमा प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजकुमार बैदवारले मृतकले व्यक्तिगत चरित्रमा आँच आउने किसिमले चर्चा गरेकाले मानसिकरुपमा चोट पुग्न गई आवेशमा आएर हत्या भएको देखिएको बताउनुभयो । “झसेन्द्रको चरित्रमाथि बारम्बार प्रश्न उठाएपछि उनीहरुलाई तह लगाउने नाममा हत्या भएको पाइयो । अहिलेसम्म अनुसन्धानका क्रममा अरु कारण फेला परेन”, उहाँले भन्नुभयो ।

अनुसन्धान समितिका सदस्य तथा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले सामान्य रिसिइबीका कारण नै घटना भएको देखिए पनि थप अनुसन्धान गरिने बताउनुभयो । तिलोत्तमा–१० मैनहवास्थित गङ्गादेवी पशु फार्ममा सोमबार राति पाँच जनाको सामूहिक हत्या भएको थियो ।

फार्ममा सैनामैना मुर्गियाका ४० वर्षीय माधव मुसहर, ३७ वर्षीया जानकी मुसहर, १६ वर्षीय पोखराज मुसहर, १५ वर्षीय करण चौधरी र १६ वर्षीय आशिष चौधरीको सामूहिक हत्या भएको थियो । मुसहर तीनैजना फार्मका कामदार भएपनि करण र आशिष भने कामदार होइनन् । प्रहरीका अनुसार हत्या गरिएका पाँचै जनाको शव परीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ ।

सामूहिक हत्याकाण्डपछि अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक बैदवारको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो । जिल्ला अदालत भैरहवाले सिञ्जालीलाई कर्तव्य ज्यान कसुरमा थप अनुसन्धान गर्नका लागि सात दिनको म्याद थप गर्ने अनुमति दिएको प्रहरीले जनाएको छ । रासस

aadharbhumi
aadharbhumi
aadharbhumi