neapl investment mega bank
  • गृहपृष्ठ
  • लकडाउनको मारमा डेरावाल, आर्थिक संकटमा होमिदै मध्यम वर्गिय

लकडाउनको मारमा डेरावाल, आर्थिक संकटमा होमिदै मध्यम वर्गिय

Jun 10th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २८ जेठ

मुलुक अहिले कोरोनाले आक्रान्त भएको छ । कोराना संक्रमित हुने क्रम दिनदिनै बढिरहेको छ । कोराना महामारी रोक्न गरिएको लकडाउनको अवधी पनि तीन महिना पुग्न लागिसक्यो । यस अवधिमा नियमित कृयाकलापका अतिरिक्त आर्थिक कारोवार ठप्प छन् ।

अत्यावस्यक सेवाका बाहेक सबै क्षेत्रका कर्मचारी तथा मजदुर घरमै बस्न बाध्य छन् । अधिकांश जनताको आय आर्जनमा रोकावट आएको छ । कतिले त जागिरबाटै हात धुनुपरेको छ । यस संकटको बेला शहरमा सानोतिनो रोजगारी गरी डेरामा बस्नेहरु विभिन्न्न समस्यामा परेका छन् । कोरोनाको कारण नियमित रूपमा काम गर्न नपाएपछि डेरावालाहरूलाई समयमा भाडा बुझाउनु र नियमित रूपमा खाद्यान्नको व्यवस्था गर्नु नै मुख्य समस्या भएको छ ।

सरकारले डेरावालको समस्यालाई दृष्टिगत गर्दै घरबेटीहरूलाई भाडा मिनाहा गर्न आग्रह गरयो । तर सो आग्रह सबै घरवेटीले लागू गरेका छैनन । कतिपय घरवेटी भाडा मिनाहा गर्न असमर्थ छन् त कतिले पालना गर्न हिच्किचाइरहेका छन्।

त्यस्तै कोरोना महामारीकै समयमा कतिपय घरबेटीहरूले त भाडामा बस्ने स्वास्थ्यकर्र्मी तथा सुरक्षाकर्मीहरूलाई घरमा प्रवेश गर्न रोक लागाएको तथा घरनिकाला नै गरेको दुःखद् समाचार पनि आएका छन् । यस्ता घटनाले घरमालिक र डेरावालहरूबीच मनमुटाव हुने गरेको छ । आफ्नो जीवनचर्या निर्वाध रुपले चलाउने तनाव एकातिर छदैछ, त्यसमाथि घरधनीको व्यवहारको कारण थप मारमा परेका छन् ।

अहिले राधानीमा डेरा गरी बस्नेको दिनचर्या निकै कष्टकर बन्दै गएको छ । पानीको हाहाकार छ । हप्तामा एक पटक नुहाउन र लुगा धुन त परै जाओस खानेपानी पनि पाईदैन, तर पानीको पैसा नतिरी हुदैन । इनारहरु सुक्दै गएका छन् । ट्याक्करको पानी किनेर चलाउनु परेको छ । ट्यांकरले पनि महंगो पसौ लिन थाल्यो । घरवेटीले मनपरी भाडा तोक्छन । फोहरको पैसा महिनै विच्छे तिर्नुपर्छ तर समयमा फोहर लिन आउदैन । महंगो भाडा तिर्दा पनि सुविधायुत्त तवरले बस्न पाइदैन ।

यस्ता समस्या राधानीका धेरै डेरावालबाट सुनिन्छ । तर घरवेटीले यसको सम्वोधन गरिदिन त कता हो कता सुन्न पनि चाहदैनन् महिना शुरु हुन नपाउदै भाडा उठाउन आउँछन् । सुविधाको कुरा गरे कचकच गर्छन् । डेरावाल संग चर्को भाडा उठाउछन् तर आफूले सरकारलाई कहिल्यै घरवहाल कर तिर्दैनन् ।

डेरावालका गुनासा

‘सुविधा केही छैन, महंगो भाडा तिर्नुपरेको छ तैपनि सधै घरवेटीको किचकिच, रविभवनका डेरावाल सन्तोष थापाले सुस्केरा हाल्दै भने— यो काठमाडौ त हामीजस्ता मध्यमवर्गियको लागि पीडैपीडा दिने ठाउ बनेको छ ”। ५ वर्ष अघि देखि काठमाडौमा डेरा गरी वसेका चितवनका सन्तोष घरवेटीले गर्ने व्यवहारवाट दिक्क छन् । कलेज पढ्ने र एक निजी संस्थामा जागिर खाने सन्तोषलाई काठमाडौको वसाइ वार न पार भएको छ । न यहाँ खुशि र रमाइलोसंग बस्न पाएका छन् न त फर्केर चितवन नै जान सकेका छन् । उनी भन्छन् — के के नै गरिएला भनेर काठमाडौ आइयो तर सुविधायुत्त डेरामा बस्न नपाउदा टेन्सन मात्र भएको छ प्रगति त परै जाओस् । आफना घरवेटीले कहिल्यै राम्रो व्यवहार नगर्ने, पानी पनि अड्कलेर दिने, फोहर प्याँक्ने सुविधा नदिने, विजुली र केवुलको पनि मनपरी पैसा लिने गुनासो उनले गरे ।

काठमाडौमा डेरा गरी बस्ने धेरैले घरवेटीबाट ज्याजती नै हुने गरेको बताउँछन् । लाजिम्पाटमा डेरागरी बस्ने टि।एन शर्मा राजधानकिा घरधनीहरुले पैसाको मात्र मुख हेर्ने तर, मानविय व्यवहार पनि गर्न नजान्ने टिप्पणी गर्छन् । उनी भन्छन् ,—भाडामा लगाउने वेलामा यस्तो उस्तो सुविधा छ भन्ने तर बस्न थालेको एक महिना नहुदै किचकिच गर्ने भाडा वढाउन थाल्ने, सुविधामा कटौती गर्दे जान्छन् । आफना घरवेटीले कलेज पढाउने तर व्यवहार भने पढ्दै नपढेकाको जस्तो गर्ने गरेको उनी बताउँछन् ।

मध्यम वर्गका व्यथा उस्तै

सन २०११ को जनगणनामा अधारित रेपोर्ट अनुसार नेपालको कुल जनसंख्याको २२५ मध्यम वर्ग अन्तरर्गत पर्दछन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार नेपाली जनसंख्याको ४० प्रतिशत मध्यम वर्ग छ ।

यी वर्गमा बिशेषतः साना एवम मध्यम खालका व्यवसाय गर्नेदेखि आधुनिक शैलीमा कृषी ब्यवसाय गर्ने लगायत शिपयुक्त भई वैदेशिक रोजगारमा गएकाहरु प्नि पर्दछन् । सानोतिनो व्यापार व्यवसाय र रोजगारीमा भर परेको मध्यम वर्ग पनि कोरोना महामारीमा जकडिने निश्चित छ ।

मध्यम वर्गको आफ्नो आम्दानीको दिगोपन हुँदैन । उनीहरू आश्रित कम्पनी वा व्यवसायमा अप्ठ्यारो अवस्थाको परिणाम आश्रित कर्मचारीको आम्दानीमा पर्न जान्छ । अर्थात आफ्ना रोजगारदाताले पाएको हानीमा उनीहरु पनि भागिदार बनिदिनुपर्छ । किनकी उद्योग धन्दा बन्द भएपछि कतिपयले जागिरबाट हात धुनुपरेको छ भने कतिपयले तलव पाएका छैनन् ।

बहुसंख्यक व्यवसायी र रोजगारदाताको रोजीरोटी पनि मध्यम वर्गले नै धानिदिएका छन् । मध्यम वर्ग निर्वल हुने वित्तिकै मध्यम स्तरका उद्योगधन्दा पनि धरासायी बन्ने खतरा वढ्छ । बन्दाबन्दीको कारण अति विपन्न वर्गको साथै मध्यम वर्ग पनि समस्यामा परेको छ । गरिबीबाट भर्खरै उठेको मध्यम वर्ग पुन गरिवीको भूमरीमा धकेलिंदै छन् ।

जीवनस्तर उकास्ने उपाए के त ?

कोराना महामारीबाट सिर्जीत मध्यम तथा निम्न वर्गिय जनता तथा डेरावालको जीवन स्तर उकास्न सरकार तथा सम्वन्धीत निकायले समयमै चासो दिनुपर्ने देखिन्छ । कोरानादे निम्त्याएका समस्या मध्यनजर गर्दै सरकार तथा स्थानीय निकायले कोरोनाको कारण उत्पन्न भोकमरी र गरिवीको अन्त्य गर्न आय आर्जनका नयाँ कार्यक्रम तथा योजना तत्काल थालनी गर्नैपर्छ । मध्यम वर्गको जीवनस्तर खस्कन नदिन र निम्न वर्गको जीवन स्तर उकास्न सरकाले तत्काल आर्थिक उपार्जनका व्यवस्था मिलाउनुपर्ने देखिन्छ ।

यसको लागि नेपालको कृषि उत्पादन, नेपालमा खाद्यवस्तुको उपलब्धता र सोको पूर्तिको लागि उत्पादन र वितरण प्रणालीको विश्लेषण गरी कार्ययोजना अघि सार्नुपर्ने देखिन्छ ।
मुलुकमा गरिवीका दुष्चक्र फैलिन नदिन लकडाउनबाट प्रभावित सबै वर्ग र क्षेत्रलाई समेट्नेगरी रोजगारीका कार्यक्रम ल्याउनु जरुरी छ । कोरोना महामारीले निम्त्याएको गरिवी संग लड्न सरकारले गरेका सहायताका प्रयासले सबै वर्ग र क्षेत्रलाई समेट्नुपर्ने खाँचो छ । जनताको जीवनस्तर उकास्ने कार्यक्रम ल्याएर त्यसको प्रभावकारी कार्यन्वयन गर्ने तर्फ स्थानीय निकाय उत्तरदायी हुनु आवस्यक छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi