neapl investment mega bank
  • गृहपृष्ठ
  • दाङमा निर्माण उपकरणहरुमा आगजनी, निर्माण व्यवसायी महासंघको कडा आपत्ति

दाङमा निर्माण उपकरणहरुमा आगजनी, निर्माण व्यवसायी महासंघको कडा आपत्ति

Jun 9th, 2020

काठमाडौ, जेठ २७

दाङ जिल्लाको गढवा गाउँपालिका वडा नम्बर १ जेठान गाउँस्थित राप्ती नदीको किनारामा पार्किङ गरी राखिएका पाँच वटा स्क्याभेटरमा अज्ञात समुहबाट आगजनी गरिएको घटनाप्रति नेपाल निर्माण व्यवसायी महासंघले कडा आपत्ति जनाएको छ ।

गए राति (२०७७–०२–२६) मध्य रातमा भएको आगजनीका कारण चार वटा स्क्याभेटर जलेर नष्ट भएको र बाँकी एउटामा आशिंक क्षति पुगेको महासंघका महासचिव रोशन दाहालद्धारा मंगलवार जारी विज्ञप्तिमा जनाइएको छ । बा.२ क. ४४८२, बा.१ क.२२७१, बा.२ क.३१४८, रा.१.ख.७१३ र एउटा अनटेस्ट स्क्याभेटमा आगजनी गरिँदा करोडौको क्षति भएको विज्ञप्तिमा उल्लेख छ । ती स्क्याभेटरहरु कल्याणकोट—कालाकाटे गढवा सिक्टा हुलाकी सडक निर्माणमा प्रयोग हुँदै आएका थिए । उक्त सडक खण्डको निर्माण बज्रगुरु–कान्छाराम कन्स्ट्रक्शन जे.भी.ले गरिरहेको थियो । दुवै कम्पनी महासंघका सदस्य हुन् । कोभिड–१९ को त्रासबीच पनि राष्ट्रिय गौरवका आयोजनालाई गति दिने नेपाल सरकारको नीति अनुसार अहोरात्र भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा सक्रिय निर्माण व्यवसायीहरुलाई अज्ञात समुहबाट पटक पटक हतोत्साहित गर्ने गरी भइरहेका हिंसात्मक घटनाहरुप्रति आफ्नो गम्भीर ध्यानकर्षण भएको महासंघले जनाएको छ ।

“निर्माण व्यवसायी र उनीहरुका उपकरणहरुको सुरक्षालाई लिएर महासंघले पटक पटक प्रधानमन्त्री, मन्त्रीहरु, सुरक्षा निकायका प्रमुखहरु सहित सरोकारवाला सबैको ध्यानाकर्षण गराइरहँदा समेत अज्ञात समुहहरुको हिंसात्मक गतिविधिमा कुनै कमी नआउनु ठूलो चिन्ताको विषय हो” महासंघको विज्ञप्तिमा लेखिएको छ । यस्तै सिलसिला जारी रहेमा देशभरका निर्माण कार्य ठप्प पारी सशक्त आन्दोलनमा जान बाध्य हुने व्योहरा अवगत गराउँदै महासंघले तत्काल दोषीलाई पक्राउ गरी कडा भन्दा कडा सजाय दिन र सम्बन्धित् निर्माण कम्पनीहरुलाई क्षतिपूर्ति दिन जोडदार माग गरेको छ । साथै देशभरका निर्माण व्यवसायी र उनीहरुका उपकरणको सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन सरोकारवाला सबैको ध्यानाकर्षण गराएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi