neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रधानमन्त्रीद्वारा निसाधको निधनप्रति दुःख व्यक्त

प्रधानमन्त्रीद्वारा निसाधको निधनप्रति दुःख व्यक्त

Jun 9th, 2020

काठमाडौँ, २७ जेठ

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्व उद्योग राज्यमन्त्री मेघराज निसाधको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले आज शोक वक्तव्य जारी गरी निसाध सरल जीवनशैली, इमान्दार, राष्ट्रिय भावनाले ओतप्रोत तथा देश र जनताप्रति निष्ठावान् व्यक्तिका रुपमा आफूले पाएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले यस दुःखद घडीमा दिवङ्गत हुनुभएका निसाधप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको निधनबाट शोकमा पर्नुभएका परिवारजन, आफन्त र शुभचिन्तकमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

मिर्गौलासम्बन्धी समस्याबाट पीडित निसाधको उपचारकै क्रममा आज मङ्गलबार दिउँसो वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा ६५ वर्षको उमेरमा निधन भएको हो । यसअघि प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको मन्त्रिपरिषद्मा मधेश समता पार्टीका तर्फबाट निसाध उद्योग राज्यमन्त्रीको जिम्मेवारी पाउनुभएको थियो । पछिल्लो समय उहाँले नेतृत्व गर्नुभएको मधेश समता पार्टी नेपाल कम्युनिष्ट पार्टीमा समाहित भएको थियो ।रासस