आधारभूमि संवाददाता
काठमाडौं,जेठ २६
नेपाल विद्युत प्रधिकरणको मुख्य आम्दानीको श्रोत भनेको विद्युत विक्रीवाट हुने रकम हो । त्यसैले आफ्नो आय बढाउनका लागि प्राधिकरणले अहिले उद्योगीलाई दिने विद्युतको महसुल १५ प्रतिशतले बढाउन लागेको छ ।
विद्युत महसुल सम्वन्धी नयाँ प्रस्तावमा उद्योगीको महसुल बढाउने प्राधिकरणको प्रस्ताव छ । विगतमा ११ के.भि., ३३ के.भि. र ६६ के.भि. का ग्राहकहरुको महशुल दरमा भिन्नता देखिएकोमा प्रस्तावित महशुल दरमा भिन्नता कम गर्न यस खालको महसुल तोक्न लागेको प्राधिकरण बताउँछ ।
हालको नर्मल महशुल दरमा यस बर्गको ग्राहकको लागि १० देखि १५ प्रतिशत थप महशुल दर प्रस्ताव गरिएको प्राधिकरणले जनाएको छ। बिगतका वर्षमा करिव ४५ प्रतिशत सम्म महशुल बृद्धि भएको थियो ।
विगतमा २०५८ पश्चात ११ बर्ष पछि मात्र २०६९ सालमा करिब २०५ ले महशुल बृद्धि हुदाँ नोक्सानी पूर्ति हुन नसकेको र सो को ४ बर्ष पछि २०७३ भाद्र देखि भएको बृद्धिले पनि विद्युत विक्रीवाट हुने आम्दानीले घाटा पूर्ति हुन नसकेको प्राधिकरण बताउँछ ।
उद्योगी व्यवसायी भने विद्युत् महसुल बढ्दा यहाँ उत्पादित वस्तुले विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न नसक्ने भयमा छन् ।
साथै प्राधिकरणले व्यापारिक वर्गका ग्राहकका लागि विद्युत् महसुलमा ५ प्रतिशत बढाउने प्रस्ताव छ । यस्तै लोडसेडिङका बेला गरिएको डेडिकेटेड र ट्रंक लाइनको व्यवस्था यथावत् राख्दै यो लाइनबाट विद्युत् लिने उद्योगका लागि सामान्य दरभन्दा १५ प्रतिशत थप इनर्जी शुल्क लिने र डिमान्ड शुल्कमा पनि केही बढाउने प्रस्ताव छ ।
सरकारले अहिले भइरहेको विद्युत् दरसमेत घटाएर प्रोत्साहन गर्नुपर्ने बेलामा बढाउने प्रस्ताव गरेको भन्दै उद्योगीहरुले आपत्ति जनाइरहेका छन् ।
प्राधिकरण भने नेपालको विद्युत् लागत दक्षिण एसियाली केही मुलुकको तुलनामा सस्तो भएको बताउँछ ।