neapl investment mega bank
  • गृहपृष्ठ
  • कर्णालीका सात जना कोरोना जितेर घर फिर्ता

कर्णालीका सात जना कोरोना जितेर घर फिर्ता

Jun 6th, 2020

सुर्खेत, २४ जेठ

कर्णाली प्रदेशका सात जना कोरोना सङ्क्रमित उपचारपश्चात् शुक्रबार घर फर्केका छन् । कर्णाली प्रदेशमा अस्पताल सुर्खेतमा उपचार गराइरहेका उनीहरु कोरोना जितेर घर फर्केका हुन् । पुनः परीक्षणपश्चात कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर फर्काइएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका कोरोना रोग सम्पर्क व्यक्ति डा केएन पौडेलले जानकारी दिनुभयो । कोरोना रोग निको भएर घर फर्कनेमा दैलेख महाबु गाउँपालिकाका एक र छ जना सुर्खेतको रहेका छन् ।

कोरोनामाथि जित हासिल गर्नेहरुमा वीरेन्द्रनगर नगरपालिका–१ धारापानीका १६ वर्षीय उमेश कठायत, वडा नं ३ तातापानीका २६ वर्षीय यामराज सोनी, वडा नं ८ का १७ वर्षीय लक्ष्मण राना, वडा नं ४ का ३७ वर्षीय धनबहादुर बस्याल, वडा नं ९ लाटीकोइलीका ११ वर्षीय रमेश सुनार र महाबु गाउँपालिका–१ दैलेखका २६ वर्षीय दीपक सावन रहेका छन् । एक महिलाको नाम र ठेगाना नखुलेको अस्पतालले जनाएको छ । कर्णालीमा शुक्रबारसम्म ४८९ मा कोरोना सङ्क्रमण देखिएको छ भने दुई जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भइसकेको छ । रासस