neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रतिब्यक्ती ५० करोडसम्म पुनर्कर्जा पाइनेमा अब २० करोड मात्रै, १० प्रतिशत लघुवित्त मार्फत् लगानी

प्रतिब्यक्ती ५० करोडसम्म पुनर्कर्जा पाइनेमा अब २० करोड मात्रै, १० प्रतिशत लघुवित्त मार्फत् लगानी

Jun 5th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, जेठ २३

नेपाल राष्ट्र बैंकले साना खालका उद्यमी र बजारमा प्रतिस्पर्धा गर्न नसक्नेहरुलाई लक्षित गर्दै पुनर्कर्जाको सीमा घटाउन लागेको छ ।

यसअघि ५० करोडसम्म पुनर्कर्जा पाइनेमा अब त्यसको सीमा घटाएर प्रतिव्यक्ति २० करोड मात्रै पाइने व्यवस्था गर्न लागेको छ ।

साना, मद्यम र प्रतिस्पर्धा गर्न नसक्नेहरु लक्षित गरी ल्याइएको पुनर्कर्जाको सुविधाबाट केही सीमित पहुँचवाला र ठूला उद्यमी व्यवसायीले मात्रै लाभ उठाए भन्ने गुनासो अहिले पनि व्यापक छ ।

साथै, पुनर्कर्जाको स्वीकृति बैंकहरुले राष्ट्र बैंकसँग गराउनुपर्ने भएकाले प्रक्रियागत झन्झटका कारण उद्यमीहरुले कर्जा सहजै पाएका थिएनन् । यो अवस्थाको अन्त्य गर्न भन्दै नेपाल राष्ट्र बैंकले पुनर्कर्जा कोष कार्यविधिको मस्यौदा तयार गरेको छ ।

मस्यौदामा यसअघि प्रतिव्यक्ति ५० करोडसम्म पाइने पुनर्कर्जाको सीमालाई घटाएर २० करोड बनाइएको छ। यसरी पुनर्कर्जाको सीमा घटाउँदा साना खालका धेरै उद्यमी तथा व्यवसायीले यस्तो कर्जा उपभोग गर्न पाउने राष्ट्र बैंकको विश्वास छ । साथै, बजारमा प्रतिस्पर्धा गर्न नसक्नेहरुले ऋण पाऊन् भनेर २० प्रतिशतभन्दा बढी प्रतिफल दिने कम्पनीहरुले यस्तो कर्जा नपाउने व्यवस्था गरिएको छ।

७० प्रतिशत कर्जामा बैंकहरु स्वयं आफैले निर्णय लिन सक्छन् भने २० प्रतिशत राष्ट्र बैंकको अनुमति लिनु पर्छ । १ देखि ३ प्रतिशत ब्याजदरमा लिएर बैंक तथा लघुवित्तले बढीमा ५ प्रतिशत ब्याज लिएर पुनर्कर्जाको प्रदान गर्नेछन् ।

१५ लाखसम्मको लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा वैदेशिक रोजगारीबाट फर्केका उद्यमी, कृषि उत्पादन तथा प्रशोधनर प्राकृतिक प्रकोपबाट बन्द रहेकालाई दिइनेछ ।

३ प्रतिशत ब्याजमा पाइने विशेष पुनर्कर्जाको निर्यातजन्य उद्योग, व्यवसायलाई प्रदान गरिने र ५ प्रतिशत ब्याजमा पाइने साधारण पुनर्कर्जाको जलविद्युत् परियोजना, उत्पादनमूलक उद्योग, र पर्यटन उद्योगमा प्रवाह हुनेछ ।

निर्माण उद्योग, सार्वजनिक यातायात, औषधि उद्योग, डायग्नोस्टिक सेन्टर, स्वास्थ्य शिक्षण सस्था, अस्पताल,फोहरमैला प्रशोधनसँग सम्वन्धित उद्योगमा साधारण पुनर्कर्जा प्रवाह गर्न सकिनेछ ।

यसअघि ६० अर्ब रहेको पुनर्कर्जाको कोषलाई सरकारले आगामी वर्षको बजेटमार्फत् १ खर्बको बनाइएको छ । तर अहिलेसम्म यस्तो कोषबाट जम्मा १८ अर्ब ३१ करोड रुपैयाँ पुनःकर्जा गएको छ ।

राष्ट्र बैंकले यस्तो पुनर्कर्जाको बैंक मार्फत मात्रै प्रदान गर्दै आएकोमा अब १० प्रतिशत लघुवित्त मार्फत् लगानी गर्नेछ ।