neapl investment mega bank
  • गृहपृष्ठ
  • स्वाब सङ्कलन गरेको नौ दिन बितिसक्दा पनि पिसिआर रिपोर्ट नआउँदा छोराले बाबुको किरिया गर्न पाएनन्

स्वाब सङ्कलन गरेको नौ दिन बितिसक्दा पनि पिसिआर रिपोर्ट नआउँदा छोराले बाबुको किरिया गर्न पाएनन्

Jun 4th, 2020

सल्यान, २२ जेठ

जिल्लामा स्वाब सङ्कलन गरेको नौ दिन बितिसक्दा पनि पिसिआर रिपोर्ट नआएपछि छोराले आफ्ना बाबुको किरिया गर्न घर जान वञ्चित हुनुपरेको छ । बनगाड कुपिण्डे नपा वडा नं ६ डुरखोलाका यादव विक र नोखराज विकले घरमा बुवाको मृत्यु हुँदा पनि रिपोर्ट नआएपछि घर जान पाउनुभएको छैन ।

नगरपालिकाले प्रभावकर मावि देवस्थलको क्वारेन्टिनमा रहेका ३९३ जनाको जेठ १३ गते स्वाब सङ्कलन गरी सुर्खेत पठाइएकामा अहिलेसम्म रिपोर्ट नआउँदा बुवाको काजकिरिया गर्न नपाएको यादवले जानकारी दिनुभयो । “घरमा बुवाको मृत्यु भएको छ, किरिया बस्ने हामी दुवै छोरा यही छौँ, रिपोर्ट नआएर जान मिल्दैन भन्छन् रिपोर्ट आउने पनि थाहा छैन”, उहाँले भन्नुभयो ।

रिपोर्ट ढिला आउँदा क्वारेन्टिनमा अन्य समस्यासमेत थपिँदै जानथालेको नगरपालिकाका स्वास्थ्य प्रमुख वासुदेव पोखरेलले जानकारी दिनुभयो । “नगरभित्रका क्वारेन्टिनमा रहेका ७११ जनाको स्वाब सङ्कलन गरी पठाइएकामा १५८ जनाको रिपोर्ट आएको छ जसमा ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ, अझै ५५३ जनाको रिपोर्ट नआउँदासम्म अन्योल छ”, पोखरेलले भन्नुभयो ।

यसैबीच गत शनिबार कोरोना सङ्क्रमण पुष्टि भएका १७ जना अहिलेसम्म पनि प्रभाकर मावि र बनगाड क्याम्पसमा रहेको क्वारेन्टिनको बरण्डामा बस्न बाध्य भएका छन् । सँगै सङ्क्रमित भएका १२ जनालाई सल्यान अस्पतालको अइसोलेशनमा शनिबार भर्ना गरिएको भए पनि बाँकीलाई श्यया अभाव भएको भन्दै क्वारेन्टिनको बरण्डामा राखिएको हो ।

सङ्क्रमित र क्वारेन्टिनमा रहेका व्यक्तिले प्रयोग गर्ने शौचालय एउटै भएका कारण आफूहरुलाई समेत अप्ठेरो भएको एक सङ्क्रमितको भनाइ छ । “यहाँ शौचालयदेखि खानेपानीको धारासमेत एउटै छ, अरुले धारा नछोउ भनेर हेपेर बोल्छन्, हामीबाट अरुलाई कोरोना सङ्क्रमण नहोस् भनेर हामी आफैँ बरण्डामा सुत्ने र बस्ने गरेका छौँ”, उहाँले भन्नुभयो । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले पहल भइरहेको जानकारी दिनुभयो । आफूले रिपोर्ट तथा व्यवस्थापनका लागि दैनिक पहल गरिरहेको बताउनुभयो । रासस

aadharbhumi
aadharbhumi
aadharbhumi