काठमाडौ, जेठ २१
कर विवरण एवं कर रकम बुझाउने सम्बन्धमा नाडाको आफ्नो अपिल सार्वजनिक गरेको छ । विश्वव्यापी रुपमा बढदो कोरोना भाइरस संक्रमणको सन्दर्भमा आम जनताको स्वास्थ रक्षाको लागि नेपाल सरकारले पनि २०७६ साल चैत्र ११ गते देखि देशव्यापी रुपमा लागु हुनेगरी लकडाउन घोषणा गरेको र यो २०७७ साल जेठ ३२ गतेसम्म विस्तार गरिएकोे अवस्थामा सवै किसिमका आर्थिक कारोबार मात्र थप्प नभई उत्पादन र वितरण लगायत सम्पूर्ण आपूर्ति प्रणाली नै बन्द प्राय रहेको सम्बन्धित निकायहरुलाई जानकारी भए कै विषय हो । यस्तो अवस्थामा आन्तरिक राजश्व विभागले एउटा सार्वजनिक सूचना जारी गर्दे यही २०७७ साल जेष्ठ २५ गतेसम्म सवै उद्यमी एवं व्यवसायीहरुलाई कर विवरण तथा कर बुझाउन अनुरोध गरेकोे सम्बन्धमा यस एशोसिएशनको विशेष ध्यानाकर्षण भएको नाडाले बिज्ञप्ती मार्फत जानकारी दिएको छ ।
देशको यस्तो जटिल अवस्थामा अटोमोवाइल व्यवसायमा संलग्न देशका सवै व्यवसायीहरुले समेत यसको विरोध जनाइरहेको सर्व विदितै छ । व्यवसायीहरुले कर विवरण र कर रकम विभागले तोकेको समयमा बुझाउन कठीन भएको कुरा मौखिक रुपमा जानकारी दिदै असमर्थता व्यक्त गर्दे आउनु भएको सन्दर्भमा समग्र अटोमोवाइल व्यवसायीहरुको जायज र न्यायोचित मागलाई सम्बोधन गर्नेगरी आयकर, मूल्य अभिबृद्धिकर, अन्तःशुल्कको विवरण र कर रकम बुझाउने म्याद यही २०७७ साल अशोज मसान्तसम्म थपगरी सवै अटोमोवाइल व्यवसायीहरुको मनोबल उच्च राख्न उपयुक्त व्यावसायिक वातावरण निर्माणका लागि हामी सरकारसंग हार्दिक अपिल गर्दछौं, नाडाले भनेको छ ।