neapl investment mega bank
  • गृहपृष्ठ
  • जुम्लामा रोग सर्ने डरले स्थानीयवासीले बनाउन दिएनन् विद्यालयमा क्वारेन्टिन

जुम्लामा रोग सर्ने डरले स्थानीयवासीले बनाउन दिएनन् विद्यालयमा क्वारेन्टिन

Jun 1st, 2020

जुम्ला, १९ जेठ

फैलिँदो कोरोना भाइरसले भारतबाट गृह जिल्ला जुम्ला आउने नागरिक अत्यधिक मात्रमा वृद्धि भएपछि अहिले कर्णाली प्राविधिक शिक्षालयको एकीकृत क्वारेन्टिन भरिभराउ छ । त्यहाँको क्वारेन्टिनले थेक्न सक्ने अवस्था नभएपछि सरकारको नीतिअनुसार स्थानीय तहले सामुदायिक विद्यालयमा क्वारेन्टिन निर्माण गर्न खोजेपछि स्थानीयवासीले विरोध गरी अवरोध गर्ने गरेका छन् । कोरोना भाइरस सर्ने डरले गाउँबस्ती नजिक क्वारेन्टिन बनाउन नहुने भन्दै स्थानीयवासीले विरोध गरेका हुन् । अहिले कर्णाली प्राविधिक शिक्षालय, दुर्गा मावि लाम्रा र सरस्वती मावि कुडारी गरी तीन वटा क्वारेन्टिनमा ३८३ नागरिक बसेका छन् ।

बाहिरबाट आउने नागरिकको सङ्ख्या बढ्न थालेपछि सामुदायिक विद्यालयमा क्वारेन्टिन बनाउने सरकारको नीतिअनुसार क्वारेन्टिन बनाउन खोज्दा स्थानीयवासीले विरोध गरेको चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालले बताउनुभयो । उहाँले भन्नुभयो, “राज्य यतिबेला सङ्कटमा छ । सबै सहयोग सर्मथन र हातेमालो गरी कोरोना भाइरसको नियन्त्रण र रोकथाम गर्नुपर्ने बेलामा जानेबुझेकै व्यक्तिले असहयोग गर्ने गरेका छन् ।” स्थानीयवासीलाई सम्झाउन र कुरा बुझाउन खोज्दा पनि बुझ्ने प्रयास नगरेको उहाँले टिप्पणी गर्नुभयो ।

चन्दननाथ नगरपालिका–१० कार्तिकस्वामीस्थित जनज्योति मावि र ९ नम्बर वडा श्रीढुस्कास्थित शम्भुनाथ ज्ञानकुञ्ज माविमा क्वारेन्टिन बनाउन खोज्दा स्थानीयवासीले अवरोध गरेको उहाँले बताउनुभयो । नगरपालिका–१० कार्तिकस्वामीका पदमबहादुर शाहीका अनुसार गाउँबस्ती नजिक क्वारेन्टिन बनाउन नहुने भन्दै स्थानीयवासीले विरोध गरेका हुन् । उहाँले भन्नुभयो, “आइसोलेसन केन्द्र र अस्पताल नजिकका विद्यालयमा क्वारेन्टिन बनाउन छोडेर टाढाका विद्यालयमा बनाउन खोज्दा स्थानीयवासीको विरोध हुनु स्वाभाविक हो । रोग सर्ने डरले गाउँबस्ती नजिक क्वारेन्टिन बनाउनु हुँदैन । यसबाट नागरिक त्रसित छन् ।”

लकडाउन अवधिभर जुम्लामा १२ हजार ९२ नागरिक भित्रिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यस अवधिमा एक हजार २७३ जना क्वारेन्टिनबाट घर फिर्ता भएका छन् । एक हजार ६८४ को पिसिआर परीक्षण हुँदा सबैको रिपोर्ट नेगेटिभ आएको छ । रासस

aadharbhumi
aadharbhumi
aadharbhumi