neapl investment mega bank
  • गृहपृष्ठ
  • जीवन रक्षाको मन्त्रणा गरेर नथाक्ने सरकारद्धारा जनताको जीवनमाथि खेलबाड: राप्रपा अध्यक्ष राणा

जीवन रक्षाको मन्त्रणा गरेर नथाक्ने सरकारद्धारा जनताको जीवनमाथि खेलबाड: राप्रपा अध्यक्ष राणा

May 29th, 2020

काठमाडौ, जेठ १६

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले जीवन रक्षाको मन्त्रणा गरेर नथाक्ने सरकारले जनताको जीवनमाथि खेलबाड गरेको आरोप लगाएका छन् । परीक्षण सामाग्री र उपकरणको चरम अभावबाट महामारी सरकारको प्राथमिकता नरहेको प्रष्ट भएको उनको भनाइ छ । राप्रपा अध्यक्ष राणाले सत्ता होइन, जनता जोगाउन सरकारलाई आह्वान गरेका छन् ।

‘स्वाब नमूना सुरक्षित राख्ने भीटिएमसहित पीसीआर किटको चरम अभाव छ । परीक्षण सामाग्री उपलब्ध छ भन्ने सरकारको दाबीमाथि संचारजगतको ठूलो चुनौती छ,’ बिहीबार ट्वीट गर्दै राणाले भने । ‘जीवन रक्षाको मन्त्र जप्ने सरकारले यस्तो खेलबाड गर्न सुहाएन । सत्ता होइन जनता जोगाउनु पर्यो । सरकार आफैंले खतरामाथि खतरा थोपर्न भएन ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीको ३१ औं स्थापना दिवसको छुट्टै प्रसंगमा राणाले प्रजातन्त्रमाथि ठूलो चुनौती रहेको बताए् । राप्रपाको सान्दर्भिकता र विकल्प झन् प्रष्ट भएको उनले दाबी गरे । शुभकामना सन्देश जारी गर्दै उनले भने, ‘थाम्नै नसकिने कर र ऋणको भार छ । साँघुरो राजनीति, संस्थागत भ्रष्टाचार, विभेद, हत्या, बलात्कार, दण्डहीनता नियमित बनेको छ ।

प्रजातन्त्र ठूलो चुनौतीमा छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको सान्दर्भिकता र विकल्प झन् उजागर छ ।’ राप्रपा स्थापना दिवसको अवसरमा पार्टीका सम्पूर्ण सदस्य, शुभेच्छुकहरूमा राणाले शुभकामना दिएका छन् ।