काठमाडौ, जेठ १४
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संबिधान संसोधनमा समर्थन गर्ने निर्णय गरेको छ ।
आज बुुधबार बसेको राप्रपाको त्रय अध्यक्ष पशुुपती समशेर जवरा, डा. प्रकाश चन्द्र लोहनी र कमल थापा सहितको बैठकले निशान छाप परिवर्तन गर्न संसदमा पेश भएको संविधान संशोधन विधेयकलाई समर्थन गर्ने र विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
यस्तो छ, राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले मंगलबार सम्पन्न सर्वदलीय वैठकमा प्रस्तुत विचार
छुटेका भूमि समेटेर नक्सा निर्माण गर्ने असाध्यै राम्रो काम भएको छ । यो उचित र सह्रानीय कार्यको हामी पक्षमा छौं ।
यसै सन्दर्भमा आज सर्वदलीय वैठक आह्वान भएको छ । निश्चित रूपमा सरकारको आफ्नै तयारी छ नै होला । यद्यपि अभिवाज्य भूमि संलग्न गरेर नक्सा निर्माण गर्ने क्रमको प्रारम्भबाटै सर्वदलीय प्रयास भएको भए, अरू दल सबैले सरकारको सकारात्मक प्रयासमा बल दिने, योगदान गर्ने अवसर प्राप्त हुन्थ्यो । राष्ट्रिय मुद्दा राष्ट्रिय रूपमै सम्बोधन गरौं, सर्वदलीय प्रयासलाई जारी राखौं ।
आफ्नो भूमि फिर्ता लिने क्रममा भएको नक्सा निर्माणबारे दुइमत छैन । यसमा प्रधानमन्त्री र सरकार धन्यवादका पात्र छन् । तर कालापानी, लिपुलेक, लिम्पियाधुरासहित नक्सा जारी गरेर मात्र नेपाली भूमि फिर्ता आउने होइन । भोगचलनको तहमा जान नेपाल र भारतबीच द्विपक्षीय वार्ता जरूरी छ । तर हालसम्म यस दिशामा प्रभावकारी पहल भएको देखिन्न ।
कुटनीतिक प्रयास फितलो भएको हो कि ? कमी कमजोरी के हो ? सरकारले यसमा पूर्ण ध्यानकेन्द्रीत गरेर यथाशिघ्र द्विपक्षीय वार्ताको तिथि मिति निश्चित गर्न जरूरी भएको छ । नक्सा बमोजिम नेपालको सार्वभौम भूमि फिर्ता लिनु पर्छ भन्ने जनमत छ, राष्ट्रिय आवश्यक्ता र चाहना पनि यही हो । यसकारण वार्तामा विलम्ब नगरौं ।