neapl investment mega bank
  • गृहपृष्ठ
  • बैतडीका कोरोना सङ्क्रमितको सम्पर्कमा रहेका ६८ को स्वाब सङ्कलन

बैतडीका कोरोना सङ्क्रमितको सम्पर्कमा रहेका ६८ को स्वाब सङ्कलन

May 24th, 2020

बैतडी, ११ जेठ (रासस)

बैतडीका कोरोना सङ्क्रमित युवकको प्रत्यक्ष सम्पर्कमा रहेका ६८ जनाको थ्रोट स्वाबको नमूना सङ्कलन गरिएको छ । आइतबार २२ र शनिबार ४६ जनाको थ्रोट स्वाब सङ्कलन गरेर पिसिआर परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान मुद्दाको आरोपमा थुनामा रहेका शिवनाथ गाउँपालिका–२ का २२ वर्षीय युवकमा शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । प्रहरी हिरासतमै रहेका युवकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि ती युवकसँग प्रत्यक्ष सम्पर्कमा रहेका थप २२ जनाको स्वाब सङ्कलन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । शिवनाथ गाउँपालिकामा रहेका प्रहरी, स्वास्थ्यकर्मी र आफन्तहरुको स्वाब सङ्कलन गरेर पठाइएको हो ।

यसअघि शनिबार पनि ३२ प्रहरीसहित ४६ जनाको थ्रोट स्वाब सङ्कलन गरेर धनगढी पठाइएको थियो । यद्यपि स्वाबको रिपोर्ट भने आउन बाँकी रहेको छ । थुनामा रहेका युवकमा कोरोना सङ्क्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गरेर उनको प्रत्यक्ष सम्पर्कमा आएका थप व्यक्तिहरुको स्वाब सङ्कलन गरिएको हो ।

ती युवक वैशाख १५ गतेदेखि प्रहरीको हिरासतमा रहेकाले प्रहरीको स्वाब सङ्कलन गरिएको हो भने बयानका लागि अदालतमा पनि गएकाले अदालतका कर्मचारीहरुको पनि स्वाब सङ्कलन गरिएको हो । चैत ६ गते स्वदेश फर्किएका उनी केही दिन गाउँमा रहेकाले शिवनाथमा पनि स्वाब सङ्कलन गरिएको हो ।

स्वाब सङ्कलनका लागि भिटिएम अभाव

यसैबीच शनिबार कोरोना पुष्टि भएका बैतडीका चार युवकको सम्पर्कमा रहेका व्यक्तिहरुको स्वाब सङ्कलनका लागि भिटिएमको अभाव रहेको छ । सेती प्रादेशिक अस्पतालमा उपचारमा रहेका ती व्यक्तिहरुको प्रत्यक्ष सम्पर्कमा चार सय बढी नागरिक छन् । उनीहरु गौरीफान्टा नाकाबाट स्वदेश भित्रिएका थिए ।

पाँच प्रहरीको आरडिटी पोजेटिभ

जिल्ला प्रहरी कार्यालय बैतडीमा कार्यरत पाँच प्रहरीको आरडिटी पोजेटिभ देखिएको छ । आइतबार गरिएको २५ जनाको आरडिटी परीक्षणमा पाँच प्रहरीमा आरडिटी पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । आरडिटी पोजेटिभ आउनेमा दुई हबल्दार र तीन जवान रहेका छन् । उनीहरुको २५ देखि ३५ वर्ष उमेर समूहका रहेका छन् । यसमध्ये एक महिला हबल्दारसमेत रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताउनुभयो । उहाँका अनुसार पोजेटिभ देखिएका पाँचै जनालाई सदरमुकाम गोठलापानीमा रहेको बसपार्कमा आइसोलेशन निर्माण गरेर राखिएको उहाँले बताउनुभयो ।

शिवनाथ गाउँपालिका घर भएका २२ वर्षीय युवक जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका बेला शुक्रबार कोरोना पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय सिल गरेर प्रहरीहरुको कोरोना परीक्षण गरिएको थियो ।

शनिबार सङ्क्रमितको प्रत्यक्ष सम्पर्क ९रेड जोन०मा रहेकाहरुको ३२ प्रहरीसहित ४६ जनाको स्वाब सङ्कलन गरिएको थियो । आज ९ग्रिन जोन०मा रहेकाहरुको आरडिटी गरेको भए पनि पोजेटिभ आउँदा जिप्रकाका प्रहरीहरु त्रसित बनेका छन् ।

शुक्रबार सिल गरिएको जिप्रका हिजो स्वाब सङ्कलनपछि केही सामान्य अवस्थामा फर्किरहेका बेला पाँच जनामा आरडिटी पोजेटिभ आउँदा प्रहरी कार्यालय पूर्णरुपमा सिल गरिएको प्रहरी प्रमुख पाण्डेयको भनाइ छ । रेड जोनको स्वाब सङ्कलन गरेपछि सामान्य अवस्थामा फर्किरहेको प्रहरी कार्यालयका ग्रिन जोनमा रहेका प्रहरीमा आरडिटी पोजेटिभ आउँदा समस्या भएको छ ।