neapl investment mega bank
  • गृहपृष्ठ
  • फार्मेसी संचालकको हत्या गरेको अभियोगमा पक्राउ

फार्मेसी संचालकको हत्या गरेको अभियोगमा पक्राउ

May 18th, 2020

मोरङ, जेठ ५

बिराटनगर महानगरपालिका १० मधुमारा चोक बस्नेसुनसरी ईटहरी उपमहानगरपालिका १२ घर भएका देवी पाथीभरा फार्मेसीका संचालक ३३ वर्षीय देवी प्रसाद दुलालको हत्या गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिरहा लहान नगरपालिका १० पडहरिया टोल घर भई हाल मोरङ विराटनगर महानगरपालिका ४ स्थित बुढाथोकी फार्मेसीमा काम गर्ने २१ वर्षीय ब्रहमदेव साह, सुनसरी इटहरी उपमहानगरपालिका १२ बस्ने २० वर्षीय सोनु साह र मृतककी श्रीमती मिना श्रेष्ठ दुलाल रहेका छन् ।

आइतबार बिहान वेहोस भएको भन्दै उपचारको लागि विराटनगर गोल्डेन अस्पताल पुर्याउँदा दुलालको मृत्यु भएको घटनाको अनुसन्धानका लागि १ नं. प्रदेश प्रहरी कार्यालय अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालयबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दा उनीहरु ३ जनाले दुलाललाई कर्तब्य गरी मारेको खुल्न आएपश्चात उनीहरुलाई पक्राउ गरेको हो ।

दुलाल दम्पत्तीबीच मनमुटाव झै झगडा हुँदै आएको सन्दर्भमा मीना श्रेष्ठ र ब्रम्हदेव साहको योजनामा शनिबार राति दुलाललाई सुतेको अवस्थामा डोरीले घाँटीमा बाँधी मारेको र मृतककी श्रीमतीमिनाले छिमेकीलाई आफ्नो श्रीमान अचेत अवस्थामा रहेको भनी सम्पर्क गरी बोलाएर उपचारको लागि उक्त अस्पताल लगेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

घटनामा प्रयोग भएका मोबाइल ४ थान, सिमकार्ड ८ थान,पाउडरको बट्टा १ थान, कपडाको ब्याण्डेज १ थान, नाइलनको डोरी २ थान, सर्जिकल पन्जा ८ जोर, रगत लागेको बेडकभर १ थान, सिरानीको खोल १ थान, ब्ल्याङकेटको टुक्रा १ थान र चुडिएको सिक्री १ थान प्रहरीले बरामद गरेको छ ।

पक्राउ प्रतिवादीहरु उपर कर्तव्य ज्यान मुद्दा अन्तर्गत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi