neapl investment mega bank
  • गृहपृष्ठ
  • नागरिक जोगाउन लकडाउनमा थप कडाइ गरिने : मुख्यमन्त्री भट्ट

नागरिक जोगाउन लकडाउनमा थप कडाइ गरिने : मुख्यमन्त्री भट्ट

May 18th, 2020

डोटी, ५ जेठ (रासस)

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोभिड–१९ को सङ्क्रमणबाट नागरिकलाई जोगाउन लकडाउनमा थप कडाइ गरिने बताउनुभएको छ । राष्ट्रिय समाचार समिति ९रासस० सँग फोन संवाद गर्दै मुख्यमन्त्री भट्टले कोरोनाको सङ्क्रमण फैलिन नदिन सुदूरपश्चिमका सीमा नाकामा थप कडाइ गर्नुका साथै नागरिकको आवतजावतमा समेत नियन्त्रण गरिने बताउनुभएको हो ।

सुदूरपश्चिम प्रदेशले भारतीय सीमामा कडाइ गरेका कारण कोरोना रोकथाममा सहजता भएको बताउँदै मुख्यमन्त्री भट्टले भन्नुभयो, “हामीले भारतीय सीमामा कडाइ गरेका कारण कोरोना भित्रिन सकेको छैन, कोरोना नियन्त्रणमा सबैको सहयोग अनिवार्य रहेको छ ।”

फोन संवादकै क्रममा उहाँले अहिलेको सङ्कट व्यवस्थापनको पहिलो र प्रभावकारी उपाय भनेको बन्दाबन्दी मात्र भएकाले सरकारले नागरिकलाई थप सचेत बनाउँदै लकडाउनलाई कडाइका साथ पालना गर्न लगाइने उल्लेख गर्नुभयो । मुख्यमन्त्री भट्टले थप भन्नुभयो, “लकडाउन भनेको जो जहाँ छ, त्यहीँ बस्ने हो, खान नपाएको खण्डमा सरकारले व्यवस्थापन गर्ने छ, लकडाउनको विकल्प छैन ।” मानवको पहिलो प्राथमिकता स्वास्थ्य भएकाले पछिल्लो समय फैलिएको सङ्क्रमणको अवस्थालाई हेरेर लकडाउनलाई कडाइ गर्न निर्देशन दिन लागिएको उहाँले जानकारी गराउनुभयो ।

मुख्यमन्त्री भट्टले घर आउन नपाएर भारतीय सीमा क्षेत्रमा रोकिएका नेपालीलाई नेपाल ल्याएर क्वारेन्टाइनमा राख्ने विषयमा पहल भइरहेको जानकारी दिनुभयो । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले गरेको बन्दाबन्दीलाई आम नागरिकले सहयोग गर्न र पूर्ण पालना गर्नसमेत मुख्यमन्त्री भट्टले सबैमा आग्रह गर्नुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi