neapl investment mega bank
  • गृहपृष्ठ
  • बन्दाबन्दीमा ४४ मेगावाट क्षमताको सुपर मादीको काम निरन्तर

बन्दाबन्दीमा ४४ मेगावाट क्षमताको सुपर मादीको काम निरन्तर

May 14th, 2020

– कृष्ण दवाडी, कास्की, १ जेठ (रासस)

कास्कीको मादी गाउँपालिकामा निर्माणाधीन ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत् आयोजनाको हालसम्म ४० प्रतिशत हाराहारीमा काम सम्पन्न भएको छ । गाउँपालिकाको वडा नं १ सिक्लेस र २ नं वडा ताङ्तिङको सिमाना गलबन्दीमा मादी नदीको पानी बाँध बाँधेर भूमिगत सुरुङमार्फत वडा नं २ को सोँधामा निर्माण गरिने पावर हाउस ९विद्युत् गृह०मा खसालेर विद्युत् उत्पादन गर्ने योजनाअनुसार अहिले आयोजनाको काम भइरहेको हो ।

कोभिड–१९ को सङ्क्रमण रोक्नका लागि जारी बन्दाबन्दीले पूर्ण क्षमतामा काम प्रभावित भए पनि हाल देशका विभिन्न ४० जिल्लाका ४५० जना मजदुर दैनिक निर्माण कार्यमा खटिएको आयोजनाका कार्यकारी अध्यक्ष पुष्पज्योति ढुङ्गानाले बताउनुभयो ।

सरकारले कोभिड–१९ को सङ्क्रमण रोक्न जारी गरेका सबै सुरक्षाका उपायको पालना गरी काम भइरहेको उहाँले बताउनुभयो । निर्माण सामग्रीको अभाव रहेकाले परियोजनामा रहेको मौज्दात सामग्री तथा काठमाडौँ, पोखरा तथा हेटौँडाबाट सामग्री ल्याएर भए पनि कामलाई निरन्तरता दिइएको अध्यक्ष ढुङ्गानाले बताउनुभयो ।

“अहिले दैनिक ७५० देखि ८०० मजदुर परिचालन गरेर काम गर्ने बेला भए पनि कोरोनाका कारणले ४५० मजदुरमात्र अहिले काममा छन्, थप रिसोर्स परिचालन गर्न सकेनौँ । हेल्थ एण्ड सेफ्टीलाई प्राथमिकता दिएर काम अघि बढाएका छौँ”, उहाँले भन्नुभयो । प्रवद्र्धक कम्पनी सुपर मादी हाइड्रो र स्थानीयवासीको २५ प्रतिशत तथा सानिमा बैंकको अगुवाइमा अन्य आठवटा बैंकको ७५ प्रतिशत लगानी गरी कूल रु सात अर्ब ५० करोड लागतमा सो आयोजना बन्न लागेको हो ।

हाल आयोजनाको सुरुङ निर्माण, भूमिगत संरचना, सेटलिङ बेसिन (पानी थिग्राउने पोखरी), हेडवर्कस, विद्युत् गृह र एङ्कर ब्लकलगायत गरी समग्रमा ४० प्रतिशत काम सम्पन्न भएको अध्यक्ष ढुङ्गानाले जानकारी दिनुभयो । त्यसैगरी अहिलेसम्म ३० प्रतिशत वित्तीय प्रगति भएको बताइन्छ ।

आयोजनाको छ हजार ९०० मिटर लामो भूमिगत सुरुङ खन्ने कामको हालसम्म ६० प्रतिशत सकिएको बताइन्छ । त्यसैगरी हेडवर्कसको काम ३० प्रतिशत पूरा भएको छ । आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिक तथा हाइड्रो मेकानिकलको कामका लागि छुट्टाछुट्टै कम्पनीसँग सम्झौता भएर काम अघि बढेको छ । कूल रु तीन अर्ब ७७ करोड लागतमा सिभिल वर्कको कामको जिम्मा फेवा कन्स्ट्रक्सनले लिएको छ ।

त्यसैगरी माछापुच्छ«े मेटल उद्योगले रु ५५ करोड लागतमा हाइड्रो मेकानिकलसम्बन्धी कामको जिम्मा पाएको छ भने रु ९७ करोड लागतमा एशिया प्यासिफिक पावर टेक प्रालिसँग इलेक्ट्रो मेकानिकलको ठेक्का सम्झौता गरेको थियो । हाइड्रो मेकानिकल्सका सामग्रीका लागि एलसी खोलिसकेको र आउने तयारीमा रहेको बताइन्छ ।

प्रसारण लाइन विस्तार (ट्रान्समिसन लाइन) को कामका लागि प्रक्रिया अघि बढेकामा लकडाउनका कारणले ढिलाइ भएको आयोजनाको प्रवद्र्धक कम्पनी सुपर मादीले जनाएको छ । आयोजनबाट उत्पादित विद्युत् १९ किमी टाढा रहेको लेखनाथ सवस्टेशनबाट राष्ट्रिय प्रसारणमा जोडिने छ । चिनियाँ लगानीमा निर्माण गरिएको अपर मादीको टावरमार्फत तार विस्तार गरी आयोजनाको विद्युत् राष्ट्रिय प्रसारणमा जडान गरिने परियोजना इन्जिनीयर डा सन्तोष भट्टराईले जानकारी दिनुभयो ।

विसं २०७५ कात्तिकमा आयोजनाको सिभिल वर्कको काम शुरु भएको थियो । विसं २०७८ असारभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि आयोजनामा कोभिड–१९ का कारणले निर्माण अवधि तथा लागत दुवै बढ्ने आयोजनाले जनाएको छ । “ऊर्जामा देशलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित आयोजना शुरु गरेका हौँ तर फागुनदेखि जेठसम्म अहिले गतिका साथ काम गर्ने बेलामा सिजनमा काम गर्न नपाउँदा आठ महिनादेखि एक वर्ष लम्बिने अनुमान छ, लागतसमेत बढ्ने देखिएको छ तर कसरी रोक्ने भन्नेमा छौँ”, अध्यक्ष ढुङ्गानाले भन्नुभयो ।

आयोजनाबाट उत्पादित विद्युत् खरिदका लागि नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भइसकेको आयोजनाले जनाएको छ । हिउँदयाममा प्रतियुनिट आठ रुपैयाँ ८० पैसा तथा बर्खायाममा चार रुपैयाँ ४० पैसामा पिपिइ गरिएको जनाइएको छ । आयोजनाको निर्माण शुरु भएसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत मादीका विभिन्न विद्यालय, सडक निर्माणलगायतमा आर्थिक सहयोग गरिएको र स्थानीयवासीलाई रोजगारीको अवसर दिइएको इन्जिनीयर भट्टराईले बताउनुभयो ।

कोभिड–१९ को सङ्क्रमण रोक्न जारी बन्दाबन्दीमा प्रभावित मादीका विपन्न, असहाय तथा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई राहतका लागि आयोजनाले रु १२ लाख ७३ हजारबराबरको खाद्यान्न सहयोग गरेको मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङ (श्याम)ले जानकारी दिनुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi